विराटनगर १५ भदाै । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार राज्य मन्त्री सपना दर्जीले शान्ति सम्झौताको २० वर्ष पुरा भइसक्दा पनि राज्यले वेपत्ता परिवारको माग सम्बोधन गर्न नसकेको बताउनु भएको छ ।
बलपूर्वक वेपत्ता पारिएका पीडितहरूको १६ औं अन्तराष्ट्रिय दिवसको अवसरमा आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, नेपाल रेडक्रस सोसाईटी मोरङ, मानव अधिरकारका लागि महिला, एक महिला, डब्लूएचआर, बेपत्ता पीडित परिवार समाजलगायतका संस्थाको आयोजनामा विराटनगरमा आयोजित कार्यक्रममा राज्य मन्त्री दर्जीले बलपूर्वक बेपत्ता पारिएका पीडित परिवारका सदस्यलाई राज्यले सम्बोधन गर्न नसकेको बताउनु भएको हो । उहाँले न्यायका लागि आवाज उठाइरहन सामाजिक संघसस्था र बेपत्ता परिवारलाई आग्रह गर्नुभयो ।
दर्जीले प्रदेश सरकारले बेपत्ता परिवारको माग सम्बोधन गर्न नसक्ने भए पनि संघीय सरकार समक्ष माग सम्बोधनका लागि पहल गर्ने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा राष्टिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत चिरञ्जीवी कोइरालाले सरकारले गठन गरेका दुई ओटै आयोगसँग राष्टिय मानव अधिकार आयोगले समन्वय र सहकार्यको काम गर्दै आएकाले बेपत्ता परिवारले उजुरी दर्ता नगराएको वा छुट्नु भएको भए सोको लागि आयोगलाई निवेदन दिन आग्रह गर्नु भयो । उहाँले अन्तरक्रिया कार्यक्रममै पनि केही बेपत्ता पीडितले राज्यसँग पुग्ने प्रक्रियाको बाटो थाहा नपाएको उल्लेख गर्दै, राज्यको अभिलेखमा छुटेका पीडितहरुको विवरण अभिलेखकका लागि आयोगले दुवै आयोगसँग समन्वय र सहकार्य गर्ने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बेपत्ता परिवार समाज, नेपालका केन्द्रीय अध्यक्ष रुपेश साहले बेपत्ता परिवारहरूले आफ्ना परिवारका सदस्य कसरी बेपत्ता पारियो र उनीहरूको अवस्था के छ भन्ने जान्न चाहेको बताउनुभयो । उहाँले ६० दिनमा बेपत्ताको अवस्था सार्वजनिक गर्ने भनिए पनि २० वर्ष सम्म पनि परिवारका सदस्यको अवस्था सार्वजनिक नभएको गुनासो गर्नुभयो । उहाँले राज्यले आफूहरूका परिवारका सदस्यको अवस्था के छ भन्ने जानकारी दिनुपर्ने माग गर्नुभयो ।
बेपत्ता परिवारकी सदस्य गुईवतीदेवी खवासले पति र छोरा वेपत्ता पारिए पछि आफू एक्लै भएको र हाल जीवनयापनमा जटिल समस्या झेलिरहँदा पनि राज्यले कुनै सहयोग नगरेको गुनासो गर्नु भयो । उहाँले पति र छोरा एकैदिन बेपत्ता भएपनि राज्यले आफ्ना परिवारका सदस्यका बारेमा जानकारी नदिएको बताउनु भयो ।
खवासले आफूलाई राज्यको पैसा भन्दा पनि पति र छोराको जानकारी आवश्यक भएको बताउनु भयो ।
तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरा द्वन्द्वका समयमा बेपत्ता भएका र उनीहरुको अवस्थाका बारेमा राज्यले कहिल्यै सूचना नदिएको बेपत्ता पीडित जानुका पोखरेलले गुनासो गर्नु भयो ।
जेठो छोरालाई नेपाली सेना र र कान्छो छोरालाई तत्कालीन समयमा माओवादीले बेपत्ता बनाएको पीडित पोखरेले बताउनु भयो । उहाँले तीन भाइ छोरामध्ये दुई भाई बेपत्ता, एक भाई छोरा र पतिको समेत मृत्यु भएकाले आफूले साहाराविहीन एक्लो जीवन बाँचिरहेको बताउनु भयो ।
सरकारले १० लाख रुपियाँ राहत स्वरुप दिएपनि खाइ जीविकाका लागि स्थायी बाटो नदिएकाले अहिले जीवनयापनमै समस्या भएको पोखरेलले गुनासो गर्नु भयो । आफूले समेत रोगी भएको र बिरामी पर्दा छिमेकीले पानी तताएर दिनुपर्ने अवस्था हुँदासम्म पनि आफ्ना दुई छोराको अवस्था के कस्तो छ, भनेर राज्यले सूचना नदिएको बताउनु भयो ।
बेपत्ता पीडित निर्मला भगतले आफू बेपत्ता पीडित भएपनि राज्यको कहाँ र कुन निकायमा गएर नाम दर्ता गराउने भन्नेमा जानकारी नभएको बताउनु भयो । उहाँले ०५८ सालमा पति बेपत्ता भएदेखि हालसम्म पतिको अवस्थाका बारेमा थाहा नभएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बेपत्ता पीडित चुमन बस्नेतले माइलो दाजु द्वन्द्वका समयमा बेपत्ता भएदेखि राज्यले उहाँका बारेमा कुनै सूचना नदिएको बताउनु भयो । उहाँले दाजुसँगै द्वन्द्वका समयमा हिड्नु भएको सपना दर्जी दिदी आज कोशी प्रदेश सरकारको राज्यमन्त्री भएकाले अब पीडितहरुलाई न्यायका लागि पहल गरीदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समूह मोरङ अध्यक्ष चुडामणि भट्टराईले शान्ति सम्झौताका २० वर्ष वितेपनि सामाजिक संघसंस्थाले हरेक वर्ष बेपत्ता दिवस मनाएका कारण राज्यलाई नैतिक दवाव सिर्जना भएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा एकल सहिला समूह कोशी प्रादेशिक अधिकृत गीता पोखरेलले बेपत्ता परिवारका समस्या र पीडालाई सरकारले टार्न नमिल्ने भएकाले यथासक्य चाँडो निकासका लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरका अधिकृत पुण्य अधिकारीले राज्यले बेपत्ताको अवस्था सार्वजनिक नगरेर मानवअधिकार उल्लङ्गघन गरिरहेको बताउनु भयो । उहाँले बेपत्ता परिवारको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रमपछि बेपत्ता पीडित परिवार र अधिकारकर्मीको सहभागितामा नेपाल रेडक्रस सोसाइटीको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडि बेपत्ताहरुको स्मरणमा दीप प्रज्वलन गरिएको थियो ।
