आज रक्षा बन्धन

विराटनगर १२ भदौ । वैदिक सनातन परम्परामा विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा पर्व आज (शुक्रबार) देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदैछ ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारी समुदायले विधिपूर्वक नयाँ यज्ञोपवीत धारण गर्ने तथा विभिन्न समुदायले रक्षासूत्र बाँधेर पर्व मनाउने गरेका छन् । जनैपूर्णिमाको अवसरमा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गर्ने र गुरु–पुरोहितबाट मन्त्र उच्चारणसहित रक्षाबन्धन बाँध्ने परम्परा छ । धार्मिक मान्यताअनुसार वैदिक विधिबाट मन्त्रिएको रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ ।
ब्मखभचतष्कझभलत

तागाधारी समुदायमा भने नयाँ जनै अर्थात यज्ञोपवीत धारण गर्ने विशेष दिनका रूपमा लिइन्छ । श्रावण शुक्ल चतुर्दशीदेखि नै कपाल मुण्डन गरी एक छाक मात्र भोजन गर्दै चोखोनितो भएर व्रत बस्ने परम्परा रहिआएको छ । पूर्णिमाको बिहान स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक विधिअनुसार मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ‘ऋषितर्पणी’समेत भनिन्छ । वैदिक परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको प्रतीकका रूपमा समेत व्याख्या गरिएको पाइन्छ ।