भोटेकोशी नदीमा आएको बाढीका कारण कोशी प्रदेशका ८९ जना सम्पर्कविहिन

विराटनगर, १२ भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण सो क्षेत्रमा कार्यरत र भ्रमणमा गएका कोशी प्रदेशका ८९ जना सम्पर्क विहिन भएका छन् ।

सम्पर्कविहीन भएका कारण खोजीका लागि प्रहरीलाई जानकारी गराइएका ९४ जनामध्ये पाँच जना भने यस बिचमा सम्पर्कमा आएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायबमहानिरीक्षक शेखर खनालका अनुसार कोशी प्रदेशका ११ जिल्लाका ८९ जना नागरिक सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताउनुभएको हो ।

बिहीबार दिउँसो २ बजेसम्म प्राप्त विवरण अनुसार सम्पर्कविहीन भएकामध्ये पाँच जना सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ । विवरण अनुसार बाढीबाट सबैभन्दा बढी सोलुखुम्बु जिल्लाका नागरिक प्रभावित भएका छन् ।

सोलुखुम्बुका २७ जना नागरिक सम्पर्कविहीन भएकोमा एक जना सम्पर्कमा आएको र २६ जना सम्पर्कविहीन छन् । ओखलढुङ्गाका नौ जनामध्ये एक जना सम्पर्कमा आएका छन् । इलामका आठ जनामध्ये एक जना सम्पर्कमा रहेको खनालले जानकारी दिनुभयो ।

सुनसरीका आठ जनामध्ये एक जना सम्पर्कमा रहेको र उदयपुरका आठ जनामध्ये एक जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । बाढीका कारण खोटाङका आठ जना र मोरङका सात जना सम्पर्कमा नरहेको विवरण प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

साँझ ५ बजे जिल्ला प्रशासन कार्यालय मोरङले अर्को विवरण सार्वजनिक गरी १३ जना सम्पर्कविहीन भएको जानकारी गराएको छ । झापाका ६ जना, ताप्लेजुङका पाँच जना तथा सङ्खुवासभा र भोजपुरका एक/एक जना नागरिक सम्पर्कविहीन रहेका छन् । पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाबाट भने अहिलेसम्म कुनै पनि नागरिक सम्पर्कमा नरहेको भन्ने जानकारी नआएको डिआइजी खनालले बताउनुभयो ।