विराटनगर ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारितालाई अझ जिम्मेवार, विश्वसनीय र जनउत्तरदायी बनाउन सत्य तथा तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारिताले देश, समाज र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारको पेशागत सुरक्षाका लागि दुर्घटना बिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै बिमा कम्पनीले बिमितलाई भुक्तानी गर्ने प्रक्रिया सहज र सरल बनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानमार्फत पत्रकारको हकहितका लागि आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकारिता पेशामा टिकिरहन व्यवसायी तथा सञ्चारकर्मीलाई बिमा कार्यक्रमले सहयोग पुर्याउने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन बिमा कम्पनीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक र जोखिमपूर्ण पेशा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट पत्रकार लाभान्वित हुने बताउनुभयो । कोशी प्रदेशका १ हजार २२७ जना पत्रकारको दुर्घटना बिमाको खर्च प्रदेश सरकारले व्यहोरेको जानकारी दिँदै उहाँले महासंघले आवश्यकता महसुस गरे आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासंघ कोशी प्रदेशअन्तर्गतका पत्रकारको एक वर्षका लागि दुर्घटना बिमा गरेको हो ।