कोशी प्रदेश सरकार पुर्नगठन, नेकपाबाट एक राज्यसहित ५ मन्त्रीद्धारा सपथग्रहण

विराटनगर १ भदौ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको सत्ता सहकार्यको सहमतिअनुसार कोशी प्रदेश सरकार पुनर्गठन भएको छ। नेकपा औपचारिक रूपमा सोमबार सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पूर्णता पाएको हो।

नयाँ कार्यविभाजनअनुसार प्रदेश मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ। जसमा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री छन । नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन्।

नेकपाबाट सरकारको नेतृत्व गर्दै खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन, जीवन आचार्यले भौतिक पूर्वाधार विकास, गीता तिम्सिनाले सामाजिक विकास र सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ ।

एमालेबाट यसअघि जिम्मेवारीमा रहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ। इन्द्रमणि पराजुलीलाई स्वास्थ्य, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत राखिएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ले र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराएका छन । सरकार पुनर्गठनसँगै कोशीमा एमाले र नेकपा सत्ता साझेदार बनेका छन ।