विराटनगर ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजकताको संज्ञा दिनुभएको छ । झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै अध्यक्ष ओलीले अध्यक्ष फेर्ने नाममा अराजक गतिविधि नगर्न चेतावनी दिनुभएको हो ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ उहाँले भन्नुभयो । एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको बताउँदै अध्यक्ष ओलीले पार्टी पुनर्जागरणको अवस्थामा रहेको दाबी गर्नुभयो। ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ उहाँले भन्नुभयो । नेतृत्व परिवर्तनको प्रक्रियालाई मात्र पुनर्गठन भन्न नमिल्ने उहाँको तर्क थियो। ‘अहिले पार्टी पुनर्गठन भनिएको छ, वास्तवमा पुनर्गठन होइन। कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन। कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन,’ उहाँले भन्नुभयो ।
विगतका अध्यक्षहरूको उदाहरण दिँदै अध्यक्ष ओलीले नेतृत्व परिवर्तन मात्र पुनर्गठन नभएको बताउनुभयो । उहाँका अनुसार नीति, गन्तव्य र कार्यक्रम परिवर्तन गर्ने विषयलाई मात्रै पार्टी पुनर्गठनका रूपमा बुझ्नुपर्छ ।
आफ्नो नेतृत्वमा कुनै समस्या नरहेको पुष्टि गर्ने क्रममा अध्यक्ष ओलीले विगतका घटनाक्रमको चर्चा गर्नुभयो। उहाँले बेलाबेलामा आफूविरुद्ध पार्टीभित्र गतिविधि हुने गरेको पनि स्मरण गर्नुभयो । ‘२०२९ सालदेखि २०३२ सालसम्म सीपी मैनालीहरूले मलाई सदस्यविहीन बनाउनुभयो,’ उहाँले भन्नुभयो । त्यसैगरी, २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफूलाई पार्टीबाट निष्कासन गरेको प्रसंग उल्लेख गर्दै उहाँले हरेकपटक आफूले पार्टी बचाउँदै आएको दाबी गर्नुभयो ।
आफ्नो नेतृत्वमा भएका कामको चर्चा गरेपछि अध्यक्ष ओलीले पार्टी सदस्यहरूको पनि आलोचना गर्नुभयो। ‘हाम्रो पार्टीमा सदस्यभन्दा कम भोट आयो। सुन्दा लाज हुन्छ,’ उहाँले भन्नुभयो, ‘कस्तो सदस्य ?’ उहाँले पार्टीलाई मतदान नगर्ने सदस्यको नवीकरण नगर्नसमेत निर्देशन दिनुभयो। ‘सदस्यको नवीकरण गर्नुस्, गैरसदस्यको होइन । नयाँ सदस्य थप्नुस्,’ उहाँले भन्नुभयो ।
पार्टी सदस्यहरूको आलोचनापछि अध्यक्ष ओलीले केही नेताहरूप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन । केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन्,’ उहाँले भन्नुभयो । पार्टीबाट लाभ लिएर गुनासो गर्नेहरूलाई अध्यक्ष ओलीले ‘किर्ना’को संज्ञासमेत दिनुभयो । ‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले,’ उहाँले भन्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीभित्र लोकतन्त्र जीवित रहेको र सबैको कुरा आफूले सुन्ने गरेको दाबी गर्नुभयो । ‘मैले जिन्दगीमा अहिलेसम्म कडा वचन, कडा स्वर कहिले प्रयोग गरेको छैन,’ उहाँले भन्नुभयो ।
आफूले नेताहरूलाई हप्काएर बेहोस बनाएको भन्ने प्रचार सही नभएको स्पष्ट पार्दै उहाँले पार्टीमा कोही मालिक र कोही दास नरहेको बताउनुभयो। ‘कसैलाई हप्काउन पाइँदैन । कोही मालिक र कोही दास छैन,’ उहाँले भन्नुभयो ।