विराटनगर, २९ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सको मुख्य प्रायोजकमा ‘एक्सट्रिम’ एनर्जी ड्रिंक जोडिएको छ ।
विराटनगर किङ्स र एनर्जी ड्रिंक ब्रान्ड ‘एक्सट्रिम’ बीच मुख्य प्रायोजनसम्बन्धी आज औपचारिक सम्झौता भएको छ । सम्झौता पत्रमा विराट किङ्सका तर्फबाट सुयस प्याकुरेल र एक्सट्रिमका तर्फबाट सोनिया राणाले हस्ताक्षर गर्नु भएको छ ।
‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नारासहित एनपीएलमा सहभागी हुँदै आएको विराटनगर किङ्सले पछिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान स्थापित गरेको विराटनगर किङ्सका पारस लुनियाले बताउनुभयो । सम्झौताअनुसार ‘एक्सट्रिम’ विराटनगर किङ्सको मुख्य प्रायोजकका रूपमा रहनेछ । टिमको जर्सी लगायत विभिन्न प्रमुख स्थानमा ‘एक्सट्रिम’ ब्रान्डको उपस्थिति रहनेछ । सम्झौताले विराटनगर किङ्सको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास टिमले लिएको छ ।
नेपाली क्रिकेटको विकास, टिमको उत्कृष्ट प्रदर्शन तथा आगामी दिनमा विराटनगर किङ्सको यात्रामा ‘एक्सट्रिम’ को निरन्तर साथ र सहकार्य रहने अपेक्षा गरिएको छ । यसअघि पहिलो र दोश्रो संस्करणमा विराटनगर किङ्सको मुख्य प्रायोजकमा एभरेष्ट बैंक रहेको थियो ।
एनपीएलको तेश्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को घोषणा अनुसार प्रतियोगिताका लागि अक्सन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ । फ्रेन्चाइज टिमहरूले विदेशी तथा स्वदेशी खेलाडीहरूलाई आबद्ध गर्ने तयारी गरिरहेका छन ।