विराटनगर २८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले र्पुयाएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयोे, ‘कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रह्यो। यो मेरो लागि महत्वपूर्ण विषय हो ।’ आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राख्नु भएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित ५ जनाको सहभागिता रहेको थियो । मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।