विराटनगर २६ साउन । माईती नेपाल विराटनगरले पछिल्लो एक वर्षमा मानव बेचविखनको जोखिममा रहेका ८८ जनालाई सीमा नाकाबाट फर्काएको छ ।
फर्काइएका सवै परिवारमा पुर्नस्थापना भईसकेको माईती नेपाल विराटनगरले जनाएको छ । आर्थिक वर्ष २०८२–०८३ को सामाजिक परीक्षण कार्यक्रममा आज विराटनगर संयोजक विनोद पोखरेलले २०८२ साउन देखि २०८३ असार सम्म विभिन्न १९ जिल्लाका ८८ जना महिला तथा बालबालिकाहरुलाई सीमाक्षेत्रबाट फर्काइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ फर्काइएका मध्ये ५८ जना १८ वर्ष भन्दा माथि र ३० जना १८ वर्ष मुनीका छन् ।’
सिमा क्षेत्रमा भेटिएका २ हजार ५ सय भन्दा बढीसँग गरिएको सोधपुछका आधारमा ८८ जना मानव बेचविखनको जोखिममा रहेको पाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार माईती नेपालले सीमानाकामा विहान ६ देखि राती १० वजे सम्मको निरन्तर निगरानी गर्दै आएको छ । सीमा क्षेत्रबाट फर्काइएका मध्ये कामको खोजीमा हिँडेको भन्नेहरु २० जना, आफन्तको लहैलहैमा भन्नेहरु २७ जना, घुम्न हिँडेको भन्नेहरु ४ जना, प्रेम विवाह गरेकाहरु १८ जना, पारिवारिक वेमेलका कारण हिँडेका ७ जना र नेटवर्किङ व्यापारका लागि भन्नेहरु १२ जना रहेको संयोजक पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सामाजिक सञ्जाल र डिजिटल माध्यमको जोखिम मुख्य चुनौतिका रुपमा देखिएको छ ।’
माईती नेपालले मुख्यगरि सिमा क्षेत्रमा निगरानी, विभिन्न सरोकारवालाहरुसँग सचेतनामुलक कार्यक्रम र अन्तरक्रिया कार्यक्रम गर्ने गरेको मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिनुभयो । उहाँले स्थानिय तहमा मानव बेचविखन विरुद्धको समिति गठन गरिएको, जहदा , ग्रामथान र बिराटनगर महागरपालिकाको वडा नं. ८, १३, १५,१६ सन्जाल समुह गठन गरिएको बताउनुभयो ।
आर्थिक वर्ष २०८२–०८३ मा ५४ लाख ३१ हजार ५५० प्रशासनिक तथा कार्यक्रम तर्फ खर्च भएको सामाजिक परीक्षणका क्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख उषा झा, विराटनगर १३ का वडाध्यक्ष सुर्यलाल यादव, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रविण घिमिरे, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका लगायतका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।