विराटनगर २५ साउन । उपभोक्तालाई तोकिएकोभन्दा कम तौलको ग्यास बिक्री–वितरण गरेको पाइएपछि मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले गरेको बजार अनुगमनका क्रममा उद्योग परिसरमा रिफिल गरिएका ग्यास सिलिन्डरको तौल परीक्षण गर्दा कम तौलको ग्यास भेटिएपछि उद्योगलाई जरिवाना गरिएको हो । प्रशासन कार्र्यालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा एउटा सिलिन्डरमा १३.६८४ किलोग्राम मात्र ग्यास रहेको पाइएको थियो । त्यसपछि उद्योगलाई तत्काल २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
अनुगमनका क्रममा ६३ वटा सिलिन्डरको तौल परीक्षण गर्दा औसत १४.९५४ किलोग्राम मात्र ग्यास रहेको पाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । कम तौल भएका सिलिन्डरको विषयमा समेत प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । अनुगमनका क्रममा उद्योगमा रहेका खाली सिलिन्डरको तौल परीक्षण गर्दा केही सिलिन्डरमा तोकिएको तौलभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौलसमेत देखिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले उद्योगबाट उत्पादन तथा वितरण भएका अधिकांश सिलिन्डरमा कम तौलको ग्यास राखेर बिक्री–वितरण गरिएको पाइएको जनाएको छ । उपभोक्तालाई तोकिएको परिमाणभन्दा कम ग्यास बिक्री गर्ने कार्यविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ ।
यसअघि विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई पनि अनुगमनका क्रममा जाँचबुझ निरीक्षकको कार्यमा सहयोग नगरेको भन्दै ११ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।