संसारी माईस्थान मन्दिरको साधारणसभाका लागि अन्तरिम समिति गठन

विराटनगर, २५ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले रङ्गेली नगरपालिका–७ स्थित संसारी माईस्थान मन्दिरको साधारणसभा सम्पन्न गर्न पाँच सदस्यीय अन्तरिम समिति गठन गरेको छ।

लामो समयदेखि मन्दिरको साधारणसभा हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्थापन समिति चयनका लागि अन्तरिम समिति गठन गरेको हो। मन्दिरलाई थप व्यवस्थित बनाउँदै नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले समिति गठन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो।

अन्तरिम समितिको संयोजकमा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिइएको छ। समितिका सदस्यहरूमा जनता बहुमुखी क्याम्पस रङ्गेलीका क्याम्पस प्रमुख, जिल्ला प्रशासन कार्यालय मोरङका अधिकृत र इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख रहनुभएको छ। रङ्गेली नगरपालिकाको आर्थिक प्रशासन शाखा प्रमुखलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अन्तरिम समितिले आगामी तीन महिनाभित्र मन्दिरको विधानअनुसार सदस्यता वितरण गरी साधारणसभा सम्पन्न गर्नुपर्नेछ। साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि अन्तरिम समितिले जिम्मेवारी नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्नेछ।

नेपाल तथा भारतबाट दैनिक सयौँ भक्तजन आउने संसारी माईस्थान मन्दिर पूर्वी नेपालको प्रमुख धार्मिक स्थलका रूपमा परिचित छ। धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा विभिन्न समयमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।