विराटनगर २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताउनुभएको छ।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्नुभयो।
परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिको विशिष्ट पहिचान, भाषा, संस्कृति र परम्परा नै नेपालको राष्ट्रिय गौरव भएको राष्ट्रपति पौडेलले बताउनुभयो। उहाँले आदिवासी जनजातिको जल, जमिन र प्राकृतिक स्रोतसँग अटुट तथा आध्यात्मिक सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो।
राज्यको नीतिनिर्माण तथा निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको उहाँले बताउनुभयो। पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले शिक्षामा पहुँच विस्तार गरी समुदायलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
नेपाल अन्तर्राष्ट्रिय मञ्चमा समेत आदिवासी अधिकारको पक्षमा अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै उहाँले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने आईएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताउनुभयो।