विराटनगर २४ साउन । नेकपा (एमाले) का कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पदबाट राजीनामा दिने बताउनुभएको छ ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले अध्यक्ष ओलीको निर्देशनअनुसार मुख्यमन्त्री कार्कीले निर्देशन अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभएको दाबी गर्नुभयो। उहाँका अनुसार अहिले मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा नेपाली कम्युनिष्ट पार्टीलाई सहभागी गराउने प्रक्रिया अघि बढिरहेको छ ।
एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका क्रममा नेकपा सरकारमा सहभागी हुने र त्यसपछि परिस्थितिअनुसार सरकारको नेतृत्व परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीसँग भेटेर छलफल गरेपछि सत्ता साझेदारीको प्रक्रिया औपचारिक रूपमा अघि बढेको र सहमतिको गाँठो फुकेको उहाँको भनाइ छ। दुई दलबीच यही २५ गते औपचारिक छलफल गरी मन्त्रालय बाँडफाँट, साझा कार्यक्रमलगायत विषय टुङ्ग्याउने तयारी भइरहेको राईले जानकारी दिनुभयो ।
मन्त्रालयको संख्या नबढाई सांसद संख्याका आधारमा सत्ता साझेदारी गर्ने तथा सकेसम्म राज्यमन्त्री नियुक्त नगर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो। सहकार्यसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिने र नेपाली कम्युनिष्ट पार्टी सरकारमा सहभागी हुने उहाँको भनाइ छ ।
एमालेभित्र निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनको मस्यौदा तयार भइसकेको र छिट्टै केन्द्रीय कमिटीमा पेस गरिने पनि राईले जानकारी दिनुभयो ।