कोशी प्रदेशका ७ जिल्लामा कराँतेका प्रशिक्षक शुन्य, झापामा मात्रै १२ जना !

विराटनगर १३ साउन । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ । प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा रहनु पर्ने प्रशिक्षकहरूको संख्यामा कतै धेरै त कतै शून्य देखिएको  हो ।

कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्डमातहतका जिल्ला खेलकुद समितिका निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै जिल्लामा अत्यधिक देखिँदा कतै भने शून्य रहेको पाइएको छ । प्रदेशको सम्भावना रहेको भनिएको कराँते खेलमा कुनै जिल्लामा १२ जना प्रशिक्षक रहँदा अधिकांश जिल्लामा भने प्रशिक्षकको संख्या शून्य पाइएको हो ।

कराँते खेलमा झापामा मात्रै १२ जना प्रशिक्षक रहँदा प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा भने प्रशिक्षकको संख्या शून्य रहेको छ। त्यस्तै, पाँचथरमा १ , इलाममा ४, मोरङमा ३, सुनसरीमा ४, खोटाङमा २ र धनकुटामा १ जना कराते प्रशिक्षक कार्यरत रहेको छन ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य सचिव विप्लव घोष भने बोर्डले छिट्टै प्रदेशका सबै जिल्लामा प्रशिक्षक व्यवस्थापन गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, कोशी प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड लगायतको प्रतियोगिताका लागि सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्दा प्रशिक्षकको संख्या लगायतको विषयमा समेत कुरा आइरहेकोले सो विषयमा बोर्डले छिट्टै निर्णय लिने बताउनुभयो ।

कोशी प्रदेशमा कराँतेको प्रशिक्षकको संख्या धेरै हुँदा अन्य धेरै खेलको सरकारी प्रशिक्षकहरूको संख्या भने अत्यन्तै न्यून छ । खेल पूर्वाधारको अभाव देखि लिएर स्रोतको अभाव भन्दै लामो समयदेखि प्रशिक्षकको पदपूर्ति हुन सकेको छैन । प्रतियोगिताको बेलामा भने बोर्डले अस्थायी प्रशिक्षक नियुक्ती गरेर काम गर्दै आइरहेको छ ।