विराटनगरमा एमएससी विद्यालय स्तरिय टेवलटेनिस प्रतियोगिता

विराटनगर ९ साउन । विराटनगरमा आजदेखि पहिलो एमएससी विद्यालय स्तरिय टेवलटेनिस प्रतियोगिता शुरु भएको छ । मोरङ स्पोर्टिङ क्लव तथा मोरङ जिल्ला भेट्रान्स टेवल टेनिस संघको संयुक्त आयोजनामा टेवलटेनिस प्रतियोगिता शुरु भएको हो ।

आईतबारसम्म सञ्चालन हुने प्रतियोगितामा जुनियर क्याडेट, सवजुनियर क्याडेटका साथै खुल्ला र ४० वर्षमाथि उमेर समूहको भेट्रान्सवीच प्रतिष्पर्धा भईरहेको मोरङ स्पोर्टिङ क्लवका अध्यक्ष विशाल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विराटनगरका सामुदायिक र निजी गरि १५ विद्यालयका विद्यार्थी, खुल्ला स्पर्धामा सुनसरी र मोरङका खेलाडी र भेट्रान्समा विराटनगरका गरि १६० खेलाडीहरु सहभागी छन् । प्रतियोगिताका विजेता, उपविजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक चन्दन ठाकुरले जानकारी दिनुभयो ।

विराटनगरका २२ वटा विद्यालयलाई प्रतियोगिताका लागि आग्रह गरिएकोमा १५ वटा सहभागी भएको संयोजक ठाकुरले बताउनुभयो । कार्यक्रममा टेवल टेनिसका पूर्व राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मान गरिएको छ ।

सम्मानित हुनेमा पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक ध्रव क्षेत्री, शिवनारायण श्रेष्ठ र पूर्व राष्ट्रिय खेलाडी पंकज सापकोटा रहनु भएको छ । उहाँहरुलाई विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, टेवल टेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँ, मोरङ स्पोर्टिङ क्लवका अध्यक्ष विशाल न्यौपाने लगायतले सम्मानित गर्नु भएको थियो ।

 

टेवल टेनिस संघका केन्द्रीय उपाध्यक्ष बानियाँले मोरङ स्पोर्टिङ क्लवको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । आगामी दिनमा टेवल टेनिसका थप कार्यक्रम नियमित रुपमा आयोजना हुने बताउनुभयो । टेवलटेनिस

प्रतियोगिताका अवसरमा खुल्ला आँखा शिविरको पनि आयोजना गरिएको थियो । लाईफ गार्ड अस्पताल र विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य शिविरमा आँखा परीक्षण, रक्तचाप, मधुमेह लगायतको परीक्षण गरिएको थियो ।