विराटनगर ७ साउन । कोशी प्रदेशमा आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट गम्भीर रूपमा जलेका बिरामीले अब उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने भएको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोशी प्रदेशकै पहिलो अत्याधुनिक बर्न युनिट बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । नोबेल अस्पतालमा आयोजित कार्यक्रममा युनिटको उद्घाटन गरिएको हो ।
वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राईको उपस्थितिमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले बर्न युनिटको उद्घाटन गर्नुभएको छ ।
अस्पतालले आगलागी तथा अन्य कारणले जलेका बिरामीलाई प्रभावकारी, सुरक्षित र विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले तत्कालका लागि तीन शय्याको अत्याधुनिक बर्न युनिट सञ्चालनमा ल्याइएको जनाएको छ ।
सेवालाई केही समयमै विस्तार गरेर थप प्रभावकारी बनाउने अस्पतालको योजना छ । प्रादेशिक तथा संघीय अस्पतालमा बर्न उपचार सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार सेवा सुरु गरिएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिनुभयो ।
अस्पतालका सञ्चालक डा. सुनील शर्माका अनुसार बर्न युनिट सञ्चालनसँगै कोशी प्रदेश तथा पूर्वी नेपालका जलनका गम्भीर बिरामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार विराटनगरमै पाउनेछन् ।