विराटनगर ४ साउन । फेरान टोरेजका लागि यस विश्वकपमा गरेको पहिलो गोल जीवनकै अमूल्य गोल भएको छ । सो गोलले स्पेनलाई दोस्रो पटक फुटबलको विश्वविजेता बनायो ।
स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका टोरेजले अतिरिक्त समयमा गोल गरेपछि स्पेनले आइतबार राति अर्जेन्टिनालाई १–० ले हराएर विश्वकप फुटबल प्रतियोगिता, २०२६ को उपाधि जितेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गरे । स्पेनको यस जितसँगै अमेरिका, क्यानडा र मेक्सिकोमा करिब पाँच हप्ता चलेको विश्वकपको २३ औँ संस्करण सकिएको छ ।
स्पेन यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो । प्रशिक्षक लुइस डी ला फुएन्टेकै प्रशिक्षकत्वमा स्पेनको यो तेस्रो उपाधि हो । उहाँको प्रशिक्षकत्वमा सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन कप जितेको थियो । हारसँगै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन भएर चार पटक च्याम्पियन बन्ने ब्राजिलको कीर्तिमान बराबरी गर्ने सपना पूरा भएन । यसै गरी अर्जेन्टिना चौथो पटक विश्वकप उपाधि जितबाट चुकेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८, १९८६ र २००२ मा उपाधि हात पारेको थियो ।
स्पेनले विश्व च्याम्पियन बन्ने क्रममा कुल आठ खेलमा एक गोल मात्र बेहोर्यो । जुन विश्वकपमा सबैभन्दा कम गोल बेहोरेर विजेता बनेको कीर्तिमान बनेको छ । स्पेनको पुरुष टिम मात्र होइन, महिला टिम पनि अहिलेको विश्व र युरोपेली च्याम्पियन हो । न्युयोर्क, न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा भएको फाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि उपाधि विजेताको छिनोफानोका लागि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अर्जेन्टिनाले अतिरिक्त समय एक खेलाडीको बेफाइदामा खेलेको थियो । खेलको इन्जुरी समयमा इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको हो । १०६ औँ मिनेटमा निकोले उत्कृष्ट कटब्याक पाससहित टोरेजलाई बल मिलाइदिए । सोही पासमा टोरेजले गोल गरे ।
यसअघि स्पेनले खेल अवधिभर दबाब बनाएको थियो । स्पेनले अर्जेन्टिनाको गोलपोस्टमा लक्षित २० प्रहार गरेको थियो । अर्जेन्टिनाको तर्फबाट स्पेनको गोलपोस्टमा पहिलो प्रहारै खेलको अतिरिक्त समयमा मात्र आएको थियो । स्पेनका गोलरक्षक मार्टिनेजले १२ प्रहार रोक्नुभयो । जुन विश्वकपको फाइनलमा कीर्तिमान पनि भएको छ । यस जितसँगै स्पेनको विजयी यात्रा ३९ खेल पुगेको छ । यस क्रममा स्पेनले २९ जित र नौ बराबरीमा खेलेको छ ।
स्पेनले उपाधि जितेपछि सुनको ट्रफीसँगै ५१ मिलियन अमेरिकी डलर पुरस्कार पायो । उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलरमा चित्त बुझायो । यसैगरी तेस्रो भएको इङ्ग्ल्यान्ड ३० मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले २८ मिलियन डलरको हकदार बनेका थिए । यसै गरी पाँचौँदेखि आठौँ स्थानमा रहने टिमलाई २० मिलियन डलर, नवौँदेखि १६ औँ स्थानमा रहने टिमलाई १६ लाख डलर, १७ देखि ३२ औँ स्थान बनाउने टिमलाई १२ मिलियन डलर र समूह चरणबाट बाहिरिने प्रत्येक टिमलाई १० मिलियन डलर प्रदान गरिएको थियो ।