विराटनगर ३ साउन । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज स्वागत गरिएको छ । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले विद्यार्थीहरुको आफ्नै मेहनतले सफलता प्राप्ति हुने बताउनुभयो ।
विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण बनाउने सम्म हो भन्दै उहाँले त्यहाँबाट कति ज्ञान लिने भन्ने विद्यार्थीमा भर पर्ने बताउनुभयो । एभरेष्टले उत्कृष्ट शैक्षिक वातावरण बनाएको भन्दै उहाँले विद्यार्थीहरुलाई त्यसको अधिकतम सदुपयोग गर्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि प्रशासनिक वा व्यवस्थापकीय दृष्टिकोणबाट कुनै कमि हुन नदिने भन्दै हाम्रा विद्यार्थी पनि सोहि अनुसार अब्बल होउन भन्ने आशा रहेको बताउनुभयो । विगतका नतिजाहरुले पनि एभरेष्टका विद्यार्थी अब्बल रहेको पुष्टि गरिसकेको भन्दै उहाँले अहिलेका विद्यार्थीहरुले पनि प्रमाणित गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रिन्सिपल पुरीले अहिले कुनै एक विद्यालय, एक शहर वा एउटा देशका विद्यार्थीबिचको प्रतिष्पर्धा नभएर विश्वभरका विद्यार्थीहरुबिचको प्रतिष्पर्धाको युग रहेको चर्चा गर्दै विद्यार्थीले पनि सोहि अनुसार आफूलाई तयार गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयमा एक दशक भन्दा बढी समय प्रशासनका क्षेत्रमा काम गर्नुभएका कर्मचारी कृष्णकुमार ठाकुरलाई सम्मान समेत गरिएको छ ।