विराटनगर १ साउन । नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गाे ढुवानी सेवा सुरु भएको छ ।
नेपाल–भारत पारवन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जलमार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था गरेको छ ।
भारत सरकारको केन्द्रिय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा जारी गरेको नोटिफिकेशन न ७३/२०२५ कस्टम्स मार्फत इलेक्ट्रोनिक कार्गाे ट्रयाकिङ सिस्टम नियमावली २०१९ मा संशोधन गर्दै भारतका कोलकाता, हल्दिया र विशाखापट्टनमबाट नेपालका लागि रेलमार्फत हुने कार्गाे ढुवानीको दायरा बिस्तार गरि विराटनगर भन्सारसम्म रेल कार्गाे लैजान पाउने व्यवस्था गरेको थियो ।
सो निर्णय कार्यान्वयन गराउन नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरेको बताएको छ । त्यसपछि २६ फेब्रुअरी २०२६ मा कोलकाता भन्सारले एक सूचना जारी गरी कोलकाता र हल्दियाबाट वीरगन्जका अतिरिक्र जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाली भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।
सो निर्णय कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार, बन्दरगाह, सिपिङलाइनसँग समन्वय गरी आज कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो पटक औपचारिक रुपमा रेल कार्गाे सेवाको सुभारम्भ भएको कालकातास्थित नेपाली महावाषिज्य दूतापासले जानकारी दिएको छ । नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्य र कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले हरियो झण्डा देखाएर कार्गाे रेलको शुभारम्भ गरे ।
भारतीय कन्टेनगर निगम लिमिटेडको रेर्ल याकमार्फत प्रस्थान गरेको पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डष्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ राखिएका ४० फिटका ४० उच्च क्षमताका कन्टेनर रहेको समेत महावाणिज्य दूतावासले जनाएको छ । यी कन्टेनरमा इलेक्ट्रोनिक्स कार्गाे ट्र्याकिङ सिस्टम जडान गरिएको छ ।
नेपाल–भारत सीमापर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रुपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गाे कन्टेनरहरु रेलमार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ ।
सडक मार्गको तुलनामा रेल कार्गाे सुरक्षित, भरपर्दाे, न्यून लागत र कम समयमा पुग्ने हुन्छ । यसले सबै प्रकारका वस्तु आयात सहज बनाउने समेत बताइएको छ । यसअघि वीरगन्जमा मात्र यस्तो सेवा उपलब्ध भएकोमा अब विराटनगरमा समेत सो सेवा उपलब्ध भएको हो ।