विराटनगर ३२ असार । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ ।
अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो । एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै इंग्ल्यान्डलाई हराएको हो । विश्वकपमा सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
अब अर्जेन्टिना र स्पेनबीच फाइनल खेल जुलाई २० सोमबार विहान अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा हुनेछ । यस्तै तेस्रो स्थानको लागि आइतबार विहान फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । साविक विजेता अर्जेन्टिनाले समूह चरणको खेलमा सहज जित हात पारेपनि नकआउट चरणका खेलहरुमा संघर्ष गर्दै आएको थियो । नकआउट चरणमा अन्तिम समयमा गोल गर्देै खेल जित्ने देखि कमब्याक जित हात पार्ने अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यही गर्यो ।
अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरस्दा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए । यस्तै अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिनाले शतप्रतिशत नतिजासहित समूह विजेता बनेर नकबउट चरणको यात्रा तय गरेको थियो । राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको अर्जेन्टिनाले प्रि क्वाटरफाइनलमा इजिप्ट विरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै ३–२ कै जित हात पारेको थियो । यस्तै क्वाटरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दे लगातार दोस्रो पटक सेमिफाइनल पुगेको थियो ।
अर्काेतर्फ सन् २०१० को विजेता स्पेनले १६ वर्षपछि विश्वकपमा फाइनलमा स्थान बनाउँदा अपराजित छ । पहिलो खेलमे नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएर पहिलो जित हात र्पायो । त्यसपछि समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन आफ्नो समूहको विजेता बनेको थियो । स्पेनले राउण्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले सहजे पराजित गरेको थियो भने प्रिक्वाटरफाइनलमा छिमेकी पोर्चुगललाई १–० ले पराजित गर्यो ।
क्वाटरफाइनलमा पुग्दासम्म स्पेनले कुनै गोल बेहोरेको थिएन । तर क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दा स्पेनले पहिलो गोल बेर्होयो । प्रि क्वाटरफाइनल र क्वाटरफाइनलमा सुपर सब मिकेल मेरिनोको निर्णायक गोलमा स्पेनले जित हात पारेको थियो ।
पहिलो खेलमा बराबरी खेलेयता स्पेनले त्यसपछिका ६ खेल निर्धारित समयमे जित्दै आएको छ । अब फाइनलमा उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना र १६ वर्षपछि फाइनल पुगेको स्पेनबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा छ ।