स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

विराटनगर २७ असार । स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान बनाएको हो ।

स्पेनको जितमा मिकेल मेरिनो नायक बने। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरको केही मिनेटमै उनले गोल गर्दै स्पेनलाई सेमिफाइनलमा पुर्याए ।

खेलको ३० औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा चाल्र्स डी केटेलारले गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको अन्त्यतिर ८८ औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

यसअघि अन्तिम १६ को खेलमा पनि मेरिनोले पोर्चुगलविरुद्ध इन्जुरी समयमा गोल गर्दै स्पेनलाई क्वाटरफाइनलमा पुर्याएका थिए ।

स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ । बेल्जियमको यात्रा भने क्वाटरफाइनलबाट सकिएको छ ।