विराटनगर ३१ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डले काठमाडौँमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्डमा २८ पदक जित्न सफल प्रदेशका २७ खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
आज विराटनगरमा सम्पन्न सम्मान कार्यक्रममा बोर्डले प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल २७ खेलाडीलाई नगदसहित सम्मान गरेको हो।
बोर्डका सदस्य सचिव विप्लव घोषले सम्मान कार्यक्रममा स्वर्ण पदक प्राप्त खेलाडीहरूलाई जनही १ लाख नगद, रजत पदक प्राप्त खेलाडीलाई जनही ७५ हजार नगद र कास्य पदक प्राप्त खेलाडीहरूलाई जनही ५० हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको जानकारी दिनु भयो। उहाँले प्रतियोगितामा पदक जित्न सफल एथलेटिक्स, कराते, उसु र तेक्वान्दो खेलका प्रशिक्षक र व्यवस्थापकलाई समेत क्रमशः १५ हजार र १० हजार नगदसहित सम्मान गरेको बताउनु भयो।
त्यस्तै, प्रतियोगितामा कोशी प्रदेशको नेतृत्व गरेर गएका टोली नेता र उपनेतालाई समेत १० हजार नगदसहित सम्मान गरिएको थियो।
खेलाडीहरूलाई सम्मान गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलाडीहरूलाई गरेको प्रतिबद्धता बमोजिम प्रतियोगिता सम्पन्न भएको हप्ता दिनभित्र सम्मान गर्न सफल भएको बताउनु भयो। उहाँले खेल क्षेत्रमा सीमित स्रोत र सुविधाको उपयोग गर्दै खेलाडीहरूले ल्याउनु भएको सफलता लोभलाग्दो भएको बताउँदै प्रदेश सरकारले खेलाडीहरूलाई सदैव प्रोत्साहन गर्ने धारणा व्यक्त गर्नु भएको थियो।
उहाँले १७ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशमा हुने हुँदा उक्त प्रतियोगिताका लागि आवश्यक रकम प्रदेश सरकारको बजेटमा विनियोजन गर्ने तयारी गरेको जानकारी दिनु भएको थियो ।
सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्की, बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीलगायतले सम्मान गर्नु भएको थियो ।
जेठ २० देखि २२ गते सम्म काठमाडौँमा सम्पन्न प्रतियोगितामा २८ पदक जित्दै कोशी प्रदेश ५ औँ स्थानमा रहन सफल भएको थियो। उक्त प्रतियोगिताको १७ औँ संस्करण कोशी प्रदेशमा हुनेछ।