ब्राजिलका स्टार फरवार्ड नेयमारद्धारा सन्यासको घोषणा

विराटनगर २२ असार । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन ।
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हृदयविदारक हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन ।

३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताए । न्यु जर्सीमा भएको खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए। नेयमारले इन्जुरी समयको पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन ।

घाइते अवस्थाबाट फर्किए पनि पूरा प्रभाव देखाउन सकेनन् । विश्वकपअघि नै चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए। त्यसपछि उनले प्रशिक्षक कार्लाे एन्सेलोटीको योजनाअनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए ।

पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिए। उनले स्कटल्यान्ड र नर्वेविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

ब्राजिलका लागि उनको अन्तिम गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीबाट आयो । तर पाँच पटकको विश्वविजेता टोलीलाई प्रतियोगितामा जोगाउन त्यो पर्याप्त भएन ।

सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता बने ।