सहज सडक पहुँचको पखाईमा पर्यटकीय गन्तव्य जेफाले

जेफाले – मोरङको उत्तरी पहाडी क्षेत्रमा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण जेफाले यतिबेला सहज सडक पहुँचको प्रतीक्षामा छ । छिन–छिनमा परिवर्तन हुने मौसम, मनमोहक प्राकृतिक दृश्य, सूर्योदय–सूर्यास्तको अनुपम दृश्यावलोकन, हरियाली चियाबारी, सामुदायिक होमस्टे तथा सांस्कृतिक विविधताका कारण जेफाले पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तर पर्यटकीय सम्भावना बोकेको यो क्षेत्रसम्म पुग्ने सडकको अवस्था कमजोर हुँदा यहाँको समग्र विकासले अपेक्षित गति लिन सकेको छैन ।

पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे) अन्तर्गत मोरङको खोर्साने बजारबाट करिब ३१ किलोमिटर उत्तरमा रहेको जेफाले डाँडा कोशी प्रदेशको राजधानी विराटनगरबाट करिब ५८ किलोमिटर दूरीमा पर्छ ।

धनकुटा र मोरङको सीमाक्षेत्रमा अवस्थित यस पर्यटकीय गन्तव्यसम्म पुग्न अहिले पनि करिब २५ किलोमिटर कच्ची सडक पार गर्नुपर्ने बाध्यता छ । सुख्खा मौसममा सवारी सञ्चालन भए पनि वर्षायाममा सडक हिलाम्मे बन्ने, ठाउँ–ठाउँमा पहिरो झर्ने तथा यात्रा जोखिमपूर्ण हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ ।

जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारीका अनुसार यस सडकलाई कालोपत्रे गर्ने प्रयास विगतमा पटक–पटक भए पनि कुनै पनि योजना सफल हुन सकेन । उहाँका अनुसार खोर्सानेदेखि भेडेटार–रबि–राँके सडकसम्म जोड्ने महत्वाकांक्षी योजनाअन्तर्गत ठेक्का लागेको थियो । तर निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले तोकिएको समयमै काम सम्पन्न गर्न नसक्दा ठेक्का रद्द भयो र सडक निर्माण अलपत्र बन्यो । त्यसपछि पनि विभिन्न चरणमा योजना बने पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयबाट उक्त सडकका लागि २६ करोड रुपैयाँ विनियोजन भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेन । चालु आर्थिक वर्षमा भने सरकारले केराबारी–समेवा सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाउन १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी उहाँले दिनुभयो । यो रकम सडकको पूर्ण स्तरोन्नतिका लागि पर्याप्त नभए पनि वर्षेनी समस्या दोहोरिने बत्तिसजुरे लगायतका जोखिमयुक्त क्षेत्रको सुधार गर्न सके आवागमन केही सहज हुने उहाँको विश्वास छ ।

स्थानीयवासीका अनुसार यो सडक उत्तर–दक्षिण जोड्ने मोरङ जिल्लाकै सबैभन्दा छोटो मार्गका रूपमा परिचित छ । सडक स्तरोन्नति हुन सके यसले पर्यटन प्रवद्र्धनसँगै कृषि, व्यापार र स्थानीय अर्थतन्त्रलाई समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी अदुवा, अलैँची, किवी, तथा अन्य नगदेबाली उत्पादन गर्ने किसानहरूले उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउन सक्नेछन् । अहिले सडकको खराब अवस्थाका कारण ढुवानी खर्च बढ्ने, उत्पादन समयमा बजार पुग्न नसक्ने र उचित मूल्य नपाउने समस्या किसानहरूले झेल्दै आएका छन् ।

प्राकृतिक सुन्दरता, छिन–छिनमा परिवर्तन हुने मौसम, लेकाली चिसो हावा, सांस्कृतिक विविधता, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य, हरियाली चियाबारी तथा शान्त वातावरणले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ ।

स्थानीय कृषकहरू तीनै तहका सरकारले यस सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नति गरिदिनुपर्ने माग गर्दै आएका छन् । बाह्रै महिना सहज रूपमा सवारी सञ्चालन हुने सडक बने कृषि उत्पादन बढाउने मात्र होइन, ग्रामीण क्षेत्रमा रोजगारीका अवसर पनि विस्तार हुने उनीहरूको विश्वास छ । अहिले वर्षायाममा मोटरसाइकल र बोलेरो जस्ता साना सवारी साधन मात्रै सञ्चालन हुन सक्छन् । तर बत्तिसजुरे लगायतका क्षेत्रमा बेला–बेला झर्ने पहिरोका कारण ती सवारीसमेत सधैं सञ्चालन हुन नसक्ने अवस्था आउने गरेको स्थानीयहरू बताउँछन् ।

केराबारी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेमबहादुर लिम्बुका अनुसार स्थानीय सरकारले सडक मर्मतका लागि आफ्नो क्षमता अनुसार लगानी गर्दै आएको छ । वर्षायाममा सडक अवरुद्ध भए तत्काल मर्मत गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि पूर्ण रूपमा सडक निर्माण गर्ने आर्थिक क्षमता पालिकासँग छैन । पहाडी भौगोलिक बनावटका कारण सडक निर्माणमा ठूलो लगानी आवश्यक पर्ने भएकाले संघीय र प्रदेश सरकारको प्राथमिकतामा यो योजना पर्नुपर्ने उहाँको भनाइ छ ।

पर्यटकीय दृष्टिकोणले हेर्दा जेफाले मोरङ जिल्लाकै अनुपम गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । प्राकृतिक सुन्दरता, छिन–छिनमा परिवर्तन हुने मौसम, लेकाली चिसो हावा, सांस्कृतिक विविधता, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य, हरियाली चियाबारी तथा शान्त वातावरणले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ । विशेष गरी थोरै खर्चमा प्रकृतिको भरपुर आनन्द लिन सकिने भएकाले पछिल्ला वर्षहरूमा युवादेखि परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

जेफालेमा निर्माण गरिएको ४२ फिट अग्लो भ्यू टावर यहाँको प्रमुख आकर्षणमध्ये एक हो । मौसम सफा भएको दिन यस टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

समुद्री सतहबाट करिब एक हजार ९ सय ७० मिटर उचाइमा रहेको जेफालेको अर्को विशेषता यसको मौसम हो । केही क्षणअघि घाम लागेको ठाउँमा अचानक बाक्लो कुहिरो लाग्ने, केहीबेरमै फेरि मौसम खुल्ने तथा निरन्तर चलिरहने चिसो हावाले यहाँ आउने पर्यटकलाई रोमाञ्चित बनाउने गर्दछ । यही विशेषताका कारण स्थानीयवासीले यस क्षेत्रलाई ‘हावेचौर’ नामले समेत चिन्ने गरेका छन् । मौसमको यही परिवर्तनशील स्वरूपले फोटोग्राफर, प्रकृतिप्रेमी तथा साहसिक यात्रा रुचाउने पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ।

जेफालेमा निर्माण गरिएको ४२ फिट अग्लो भ्यू टावर यहाँको प्रमुख आकर्षणमध्ये एक हो । मौसम सफा भएको दिन यस टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, पूर्वी नेपालका १६ जिल्लासम्मको प्राकृतिक दृश्य एकै स्थानबाट नियाल्न सकिने भएकाले यो भ्यू टावर पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

जेफाले पर्यटन विकास समितिका सचिव तथा सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीका अनुसार यहाँको प्राकृतिक विशेषताको प्रचार–प्रसार बढेसँगै पर्यटकको आगमन क्रमशः वृद्धि भइरहेको छ । उहाँका अनुसार पर्यटकको संख्या बढ्दै जाँदा स्थानीय किसानका कृषि उत्पादनले सहज बजार पाउन थालेका छन् । यहाँ उत्पादन हुने अग्र्यानिक तरकारी, स्थानीय अन्नबाली, घरेलु परिकार तथा मौलिक खानाले पर्यटकको मन जित्ने गरेको छ । त्यसबाट स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै महिला तथा युवालाई गाउँमै बसेर उद्यम गर्न प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

हाल जेफालेमा दर्ता भएका आठ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । ती होमस्टेमा एकैपटक करिब ६० जनासम्म पाहुनालाई बसोबासको व्यवस्था गर्न सकिने सचिव ठकुरीले जानकारी दिनुभयो । स्थानीय परिकार, घरेलु आतिथ्यता तथा ग्रामीण जीवनशैलीको अनुभव लिन चाहने पर्यटकका लागि यी होमस्टे विशेष आकर्षण बनेका छन् । यसले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै स्थानीय समुदायको आर्थिक अवस्थामा समेत सकारात्मक परिवर्तन ल्याउन थालेको छ ।

पर्यटन व्यवसायसँगै स्थानीय कृषकहरूले उत्पादन गर्ने अग्र्यानिक तरकारी, फलफूल, मह, अलैँची, अदुवा तथा अन्य स्थानीय उत्पादनको मागसमेत बढ्न थालेको छ

जेफालेको प्राकृतिक सौन्दर्यसँगै यहाँको मौलिक संस्कृति पनि पर्यटकका लागि अर्को आकर्षण बनेको छ । यहाँ बसोबास गर्ने विभिन्न जातजातिका समुदायले आफ्नो परम्परागत संस्कार, संस्कृति र खानपानलाई जोगाइराखेका छन् । होमस्टेमा बस्न आउने पाहुनाले स्थानीय परिकारको स्वाद लिनुका साथै ग्रामीण जीवनशैली, कृषि प्रणाली र स्थानीय संस्कृतिको प्रत्यक्ष अनुभव गर्न पाउने गरेका छन ्। यसले पर्यटनलाई केवल घुमफिरमा सीमित नराखी सांस्कृतिक आदानप्रदानको माध्यमसमेत बनाएको स्थानीयको भनाइ छ ।

आन्तरिक पर्यटनका लागि जेफाले पुग्नुभएका पत्रकार सुदिप कोइरालाले जेफाले प्रकृतिले दिएको अनुपम उपहार रहेको बताउनुभयो । उहाँले यहाँको सडक सञ्जालमात्र सहज भए जेफालेले आफ्नो विकास आफैं गर्ने रहेछ भन्ने लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जेफाले हरेक दृष्टिले मोरङ र कोशी प्रदेशका लागि मात्रै होइन देशकै लागि पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको अनुभति भएको छ ।’ यहाँको मौसम, तराईबाट अत्यन्त छोटो दुरी र यहाँका स्थानीयले देखाएको आतिथ्यता बढो गज्जव लागेको उहाँले बताउनुभयो ।

पर्यटन व्यवसायसँगै स्थानीय कृषकहरूले उत्पादन गर्ने अग्र्यानिक तरकारी, फलफूल, मह, अलैँची, अदुवा तथा अन्य स्थानीय उत्पादनको मागसमेत बढ्न थालेको छ । पर्यटकहरू स्थानीय उत्पादन खरिद गर्न रुचाउने भएकाले किसानले गाउँमै राम्रो बजार पाउन थालेका छन् । सडक सहज भई पर्यटकको संख्या थप बढ्न सके स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी बाह्य बजारसम्म पुर्याउन सकिने सम्भावना रहेको कृषकहरूको विश्वास छ । यसले कृषि र पर्यटनलाई एकअर्काको परिपूरक क्षेत्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय युवाहरूका अनुसार पर्याप्त पूर्वाधार निर्माण हुन सके जेफाले साहसिक पर्यटन, पदयात्रा, साइकल यात्रा तथा प्रकृति अवलोकनका लागि समेत उत्कृष्ट गन्तव्य बन्न सक्छ । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत जेफालेको प्राकृतिक दृश्य भाइरल हुन थालेपछि नयाँ पुस्ताका पर्यटकको आकर्षण बढेको छ । तर सडकको दुरावस्थाका कारण कतिपय पर्यटक गन्तव्यसम्म नपुगी बीच बाटोबाटै फर्किने गरेका उदाहरण पनि छन् । त्यसैले प्रचार–प्रसारसँगै पूर्वाधार विकासलाई समान रूपमा अघि बढाउनुपर्ने आवश्यकता स्थानीयले औँल्याएका छन् ।

स्थानीयवासीको भनाइमा सरकारले सडक कालोपत्रे, सञ्चार सेवा विस्तार, खानेपानी, शौचालय, पार्किङ स्थल, विश्रामस्थल र सुरक्षा व्यवस्थामा आवश्यक लगानी गर्न सके जेफाले पूर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित हुन धेरै समय लाग्ने छैन । यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, गाउँबाट हुने बसाइँसराइ कम हुने र ग्रामीण अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको छ । पर्यटनसँगै होटल, यातायात, कृषि, हस्तकला र घरेलु उद्योगसमेत विस्तार हुने सम्भावना रहेको उनीहरूको भनाइ छ।

प्राकृतिक सम्पदा र पर्यटनको प्रचुर सम्भावना बोकेको जेफाले अहिले पनि विकासको आधारभूत पूर्वाधारको अभावसँग संघर्ष गरिरहेको छ । सडक स्तरोन्नति, सञ्चार सेवा विस्तार, सुरक्षा व्यवस्थापन र सरकारी लगानी समयमै हुन सके यो क्षेत्र केवल मोरङको मात्र नभई कोशी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ । स्थानीयवासी अहिले पनि यही आशामा छन् कि प्रकृतिले दिएको अनुपम उपहारलाई राज्यले आवश्यक पूर्वाधारसँग जोडिदियो भने जेफालेले पर्यटन, कृषि र स्थानीय आर्थिक विकासमा नयाँ इतिहास रच्नेछ ।

सडक, सञ्चार, सुरक्षा र अन्य आधारभूत पूर्वाधारको विकास हुन सके जेफाले पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रचुर सम्भावना बोकेको छ

यद्यपि पर्यटन विकासका लागि अझै केही आधारभूत पूर्वाधार आवश्यक रहेको स्थानीयको भनाइ छ । विशेष गरी मोबाइल फोनको नेटवर्क नलाग्ने समस्या यहाँ आउने पर्यटक तथा स्थानीय दुवैका लागि चुनौती बनेको छ । आकस्मिक अवस्थामा सम्पर्कविहीन हुनुपर्ने अवस्थाले सुरक्षा र उद्धारका काममा समेत कठिनाइ उत्पन्न गर्ने गरेको छ । त्यसैले दूरसञ्चार सेवाको विस्तारलाई स्थानीयले पहिलो प्राथमिकतामा राखेका छन् ।

छोटो तथा वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको यस सडकखण्डमा सुरक्षा व्यवस्थापन पनि अर्को चुनौती बनेको छ । स्थानीयवासीका अनुसार सडक स्तरोन्नति भएसँगै आवतजावत बढ्ने भएकाले सम्भावित अवैध गतिविधि नियन्त्रण गर्न प्रहरी चौकी स्थापना आवश्यक छ । जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारीले प्रहरी चौकी स्थापनाका लागि पटक–पटक सम्बन्धित निकायसँग पहल गरिए पनि अहिलेसम्म ठोस उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।

स्थानीयका अनुसार सडक, सञ्चार, सुरक्षा र अन्य आधारभूत पूर्वाधारको विकास हुन सके जेफाले पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रचुर सम्भावना बोकेको छ । प्राकृतिक सम्पदा, कृषि उत्पादन, सामुदायिक पर्यटन र स्थानीय संस्कृतिको अद्वितीय संयोजन रहेको यस क्षेत्रले हजारौँ पर्यटक आकर्षित गर्ने क्षमता राख्छ । तर त्यसका लागि राज्यले पूर्वाधार विकासलाई प्राथमिकता दिन आवश्यक देखिन्छ ।

सहज सडक पहुँच, भरपर्दो सञ्चार सेवा र पर्याप्त सुरक्षा व्यवस्थाको सुनिश्चितता हुन सके जेफालेको पर्यटनले मात्र होइन, यहाँका किसान, महिला, युवा तथा समग्र स्थानीय अर्थतन्त्रले पनि नयाँ गति लिने निश्चित देखिन्छ । अहिले भने प्रकृतिले सबै कुरा दिए पनि विकासको आधारभूत पूर्वाधारको अभावले जेफाले आफ्नो पूर्ण सम्भावना उजागर गर्न नसकी सहज सडक पहुँचको पर्खाइमै बसेको छ ।