विराटनगर– कोशी प्रदेश सरकारले पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवद्र्धन गर्न आगामी साउन देखि दुई वर्ष कोशी प्रदेश भ्रमण वर्ष शुरु गर्दै छ ।
०८३ साउनदेखि ०८५ असारसम्म दुई वर्ष मनाईने प्रदेश भ्रमण वर्ष अन्र्तगत स्थानीय तहका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा विदेशी पर्यटकहरू आकर्षित गरी प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने सरकारले लक्ष्य लिएको छ ।
कोशी प्रदेश सरकार स्थानीय तहहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरेर पर्यटन क्षेत्रको विकासमा लागेका छन् । स्थानीय तहहरुले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार मान्दै एकीकृत पर्यटन गुरुयोजना, पूर्वाधार विकास, होमस्टे प्रवद्र्धन र रैथाने संस्कृतिको संरक्षणलाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।
इलामको इलाम नगरपालिकाले माईपोखरी, पाटेनागी, चियाबारी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको छ । वातावरण, संस्कृति तथा पर्यटन विधामा उत्कृष्ट घोषित भएको यस नगरपालिकाले स्थानीयस्तरमा ‘पर्यटन प्रवद्र्धन समिति’ गठन गरि पर्यटन पूर्वाधार र होमस्टेको विकासमा समन्वय गर्दै आएको छ ।

पर्यटकीय स्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट इलाम आउने आन्तरिक र बाह्य पर्यटकको संख्या हरेक बर्ष बढेको नगरपालिकाले जनाएको छ ।
स्थानीय शासन सञ्चालन ऐन प्रयोग गरी पर्यटन प्रवद्र्धन समिति गठन गरेर योजनाबद्ध पर्यटन विकास गरिएको छ ।
स्थानीय तहहरुले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार मान्दै एकीकृत पर्यटन गुरुयोजना, पूर्वाधार विकास, होमस्टे प्रवद्र्धन र रैथाने संस्कृतिको संरक्षणलाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।
इलामको सूर्याेदय नगरपालिले कन्याम चियाबारी, श्रीअन्तु डाँडा, लभडाँडा, सूर्याेदय पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको छ ।
चियाबारी र सूर्याेदयको दृश्यका लागि विश्व प्रसिद्ध यस क्षेत्रमा पर्यटकीय पूर्वाधार (भ्यू–टावर, पदमार्ग), सौर्य उर्जा व्यवस्थापन र घरबास (होमस्टे) सञ्चालन गरी पर्यटक तान्न सफल छ ।
नगरभित्रका नयाँ पर्यटकीय स्थलको पहिचान र विस्तारका लागि ‘एकीकृत पर्यटन गुरुयोजना’ तयार गरिएको छ । पर्यटन क्षेत्रको व्यवस्थापन र विकासका लागि पर्यटन बोर्ड नै स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
चिया पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन र सामुदायिक होमस्टेलाई मापदण्ड सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति लिइएको नगरपालिकाले जनाएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी महादेव मन्दिर, तुवाचुङ जायजुम, मञ्जुश्री गुफालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको छ ।

हलेसी महादेव मन्दिरमा हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको त्रि–धार्मिक स्थलको प्रचारप्रसार, पर्यटक गाइड उत्पादन, होमस्टे सञ्चालन र धार्मिकस्थलको स्तरोन्नतिको काम गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले पर्यटन प्रवर्धनमा जोड दिएको छ ।
त्रिधार्मिक ( हिन्दू, बौद्ध, किरात) पर्यटकीय स्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल भइरहेको नगरपालिकाले जनाएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्ने, ऐतिहासिक स्थलको स्तरोन्नति गर्ने र स्थानीय होमस्टेलाई अनुदान दिने नीति नगरपालिकाको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग), टेम्के डाँडा, मैयुङ डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको छ ।

नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यभित्र पर्ने १५३ कि.मी. लामो ‘मुन्धुम पदमार्ग’मा खानेपानी, विश्रामस्थल, पर्यटन सूचना केन्द्र निर्माण र साहसिक खेल (ट्रेल रेस) आयोजना गरेर साहसिक पर्यटनको विकास गरेको छ । पर्यटकको रोजाइमा अहिले ‘मुन्धुम ट्रेल’ रहेको छ ।
मुन्दुम पदमार्ग पूर्वी नेपालको चर्चित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा चिनिएको छ । यस क्षेत्रमा ट्रेल रेसलगायत खेलकुद गतिविधि सञ्चालन हुँदै आएका छन् ।
मुन्दुम पदमार्गमा सबै याममा भ्रमण गर्न सकिने गाउँपालिकाले जनाएको छ । पदमार्गको पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु पनि हुँदै आएको छ ।
मुन्दुम पदमार्ग पूर्वी नेपालको चर्चित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा चिनिएको छ । यस क्षेत्रमा ट्रेल रेसलगायत खेलकुद गतिविधि सञ्चालन हुँदै आएका छन् ।
टेम्केमैयुङ गाउँपालिकाले ‘मुन्दुम ट्रेल’ जस्ता गौरवका पदमार्गको पहिचान र विकास गरिएको छ । सम्पूर्ण पर्यटकीय स्थलको जानकारीका लागि डिजिटल पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ‘टेम्केमैयुङ विकासको आधार’ नारासहित स्थानीय उत्पादन र कला–संस्कृति प्रवद्र्धनलाई जोड दिइएको गाउँपालिकाका अध्यक्ष सरोज वस्नेतले बताउनुभयो ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले सगरमाथा हेर्न सबैभन्दा उत्कृष्ट मानिने पिके पिक क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण, स्थानीय संस्कृति प्रवद्र्धन र लोअर एभरेष्ट क्षेत्रमा ट्रेकिङ रुट व्यवस्थापनमा उल्लेख्य काम गरेको छ । सगरमाथा हेर्ने उत्कृष्ट दृश्यस्थल र उदाउँदो पर्यटन गन्तव्यका रुपमा विकास गरिएको अध्यक्ष वस्नेतको भनाई छ ।
सोलुखुम्बुको दक्षिणी भेगमा अवस्थित पिके पिक (४,०६५ मिटर)लाई सर एडमन्ड हिलारीले ‘सगरमाथा हेर्न सबैभन्दा उत्कृष्ट दृश्य विन्दु’ भनेका थिए । यसबाट पनि थाहा हुन्छ कि तल्लो सोलु पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको छ । पिक हो, जहाँबाट विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमशृंखला एकैपटक नियाल्न सकिने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

३ हजार ६४० मिटरमा अवस्थित पिके पिक आधार शिविर पदयात्राको सबैभन्दा अग्लो विन्दु रहेको छ ।
सोलुखुम्बुको प्रवेशद्वार भएको हुनाले यस नगरपालिकाले सगरमाथा क्षेत्र लगायत उच्च पहाडी पदमार्गको पर्यटन प्रवद्र्धन, होटल, लज व्यवस्थापन, र हिमाली संस्कृतिको संरक्षणमा जोड दिँदै स्थानीय स्तरमै सेवा प्रवाहलाई चुस्त बनाउने नीतिगत व्यवस्था प्रमुख शेर्पाले जानकारी दिनुभयो ।
पर्यटन प्रवद्र्धनमा कोशी प्रदेश सरकारको प्राथमिकता
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कोशी प्रदेशको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ ।
पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित ‘कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरुयोजना’ तर्जुमा गरिने भएको छ । प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ सञ्चालन गरिने बजेटमा घोषणा गरिएको पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले बताउनुभयो ।
प्रदेशका २९ स्थानीय तहमा सञ्चालित चियाबारी, फाल्गुनन्द, लालिगुराँस र मुन्धुम पदमार्गको एकीकृत पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको मन्त्री पराजुलीले जानकारी दिनुभयो ।
भ्रमण वर्षलाई सफल बनाउन आन्तरिक, अन्तरप्रदेशीय तथा विदेशी पर्यटक आकर्षित गर्ने कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । मन्त्री पराजुलीले भन्नुभयो,‘ संघ, प्रदेश र स्थानीय तहको सहलगानी तथा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित पदमार्गमा आधारित साहसिक तथा पर्यावरणीय पर्यटन प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।’
प्रदेशका २९ स्थानीय तहमा सञ्चालित चियाबारी, फाल्गुनन्द, लालिगुराँस र मुन्धुम पदमार्गको एकीकृत पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको मन्त्री पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ सार्वजनिक–निजी साझेदारीमा गुप्तेश्वर मोनोरेल, केचना सुरुङमार्ग, ध्वजेडाँडा नटराज पार्क तथा तीनजुरे–गुराँस केबलकारलगायत पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई अगाडि बढाइने छ ।’
कोशी प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि नीति, पूर्वाधार, प्रचार–प्रसार र निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।
सरकारले पर्यटकीय क्षेत्रहरुमा पर्यटन पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवद्र्धन, प्राकृतिक तथा साहसिक पर्यटन, सांस्कृतिक पर्यटन, होमस्टे तथा ग्रामीण पर्यटन, डिजिटल प्रचार–प्रसार गर्नुपर्ने पर्यटन व्यवसायी फडिन्द्र अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ प्रमुख पर्यटकीय स्थलसम्म गुणस्तरीय सडक निर्माण र स्तरोन्नति हुनुपर्छ । बराहक्षेत्र, हलेसी, पाथीभरा, रामजानकी मन्दिरलगायत धार्मिक स्थलको संरक्षण र विकास गरिनुपर्ने, कोशी टप्पु, कञ्चनजंघा क्षेत्र, झरना, ताल र हिमाली क्षेत्रको व्यवस्थित प्रचार आवस्यक छ ।’ विभिन्न जातजातिका कला, संस्कृति, भाषा, भेषभूषा र खानालाई पर्यटनसँग जोड्ने सके धेरै राम्रो हुने पर्यटन व्यवसायी अधिकारीको सुझाव छ ।
स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासमा लगानी गरे स्थानीय समृद्धि, रोजगारी र दिगो विकासको आधार बनाउन सकिने पर्यटन व्यवसायी अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ स्थानीय सरकारले नीति तथा बजेट पर्यटनलाई प्राथमिकता दिएर निर्माण गर्ने, स्थानीय पर्यटन नीति, ऐन र कार्ययोजना बनाउने, पर्यटन क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्ने र निजी लगानीकर्तालाई प्रोत्साहनका कार्यक्रम सञ्चालन भए स्थानीय समृद्धि, रोजगारी र दिगो विकास हुने थियो ।’ केही स्थानीय तहले पर्यटन क्षेत्रको विकासका लागि राम्रो काम गरिरहेको पनि उहाँले बताउनुभयो ।