विराटनगर १३ जेठ । सहकारी क्षेत्रको सुधार र सुरक्षित भविष्यका उपायबारे विराटनगरमा छलफल गरिएको छ ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को आयोजनामा आज ‘सहकारी क्षेत्रमा देखा परेका समस्या, चुनौती र सुरक्षित भविष्यका लागि सुधारका आयामहरू’ विषयक अन्तरक्रिया कार्यक्रमका सरोकारवालाले वर्तमान संकटको समीक्षा गर्दै सुधारबारे छलफल गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले केही व्यक्तिको गलत नियत र गैरजिम्मेवार अभ्यासका कारण समग्र सहकारी अभियान नै आलोचनाको केन्द्रमा पुगेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरूमा तरलता बढे पनि कर्जा प्रवाह प्रभावकारी हुन नसकेको र वितरण भएको कर्जा समेत अपेक्षित रूपमा असुल हुन नसक्दा चुनौती बढ्दै गएको बताउनुभयो ।
सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले नीति–नियमको पूर्ण पालना र संस्थागत अनुशासनलाई सहकारी सफलताको आधारका रूपमा प्रस्तुत गर्नुभएको तिथो । सक्षम सहकारी संस्थाहरू निर्माण भए मात्रै सहकारी बैंक पनि मजबुत बन्ने उहाँले बताउनुभयो ।
नेफ्स्कूनकी पूर्वकेन्द्रीय सदस्य गोमा नेपालले सहकारी अभियानमा धेरै सकारात्मक अभ्यास भइरहेका भए पनि सार्वजनिक बहसमा नकारात्मक पक्ष मात्रै प्राथमिकतामा पर्ने प्रवृत्तिले अभियानप्रति गलत धारणा निर्माण भइरहेको बताउनुभयो ।
राष्ट्रसेवक साकोसका अध्यक्ष जीवन काफ्लेले एउटा सहकारी संस्थामा देखिएको समस्या समग्र सहकारी क्षेत्रमाथि असर गर्ने भएकाले प्रत्येक संस्थाले आफूलाई पारदर्शी, उत्तरदायी र उत्कृष्ट बनाउने संस्कार विकास गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रसेवकका सचिव ओम सुवेदीले सहकारी अभियानलाई बलियो बनाउन निरन्तर बहस, समीक्षा र अनुभव आदानप्रदान आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रारम्भिक सहकारीहरूले यस्तो पहल गरिरहेकाले अब अभियानको नेतृत्व तहले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
सोही अवसरमा सहकारी बैंकको अध्यक्षमा हालै निर्वाचित लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो ।