मेसीले बनाए विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान

विराटनगर ९ असार । लियोनेल मेसीले विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको दिन सोमबार अर्जेन्टिनाले डालासमा अस्ट्रियालाई २–० ले पराजित गरी नकआउट चरणमा प्रवेश गरेको छ ।

मेसीले गरेको पेनाल्टी प्रहार बाहिरिन पुगेपछि अर्जेन्टिनाले नवौं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । मेसीले विश्वकपमा ७ मध्ये ३ पेनाल्टीमा गोल गर्न चुकेका छन् । उनी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी पनि हुन् ।

रक्षात्मक खेलेको अस्ट्रियाको पर्खालले तोड्दै मेसीले नै अन्ततः अर्जेन्टिनालाई ३८ औं मिनेटमा अग्रता दिलाए । फाकुन्डो मेडिनाको पासमा मेसीले आफ्नो परम्परागत शैलीमा पोष्टको कुना चाप्दै गोल गरेका थिए ।

यससँगै मेसी विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । यो गोल उनको विश्वकपमा १७ औं गोल हो र उनले विश्वकपमा यसअघि सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानलाई उछिनेका छन् ।

यसका साथै मेसी विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि फ्रान्सका जस्टिन फोन्टेनले १९५८ मा र जैर्जिन्होले १९७० को विश्वकपमा लगातार ६ खेलमा गोल गरेका थिए । मेसीले इन्जुरी टाइमको पाँचौं मिनेटमा अर्जेन्टिनाबाट दोस्रो गोल गरे । यसका साथै उनी विश्वकपमा लगातार ७ गोल गर्ने पहिलो खेलाडी बने ।

पहिलो गोल लगत्तै उनको फ्रिकिक प्रहार पोष्टको केही बाहिरबाट गएपछि लगातार दोस्रो खेलमा ह्याट्रिक गर्न चुकेका थिए । उनले ह्याट्रिक गोल गरेपछि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको थियो भने अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको थियो ।

मेसीले अर्जेन्टिनाबाट विश्वकपको पछिल्ला ६ खेलमा १० गोल गरिसकेका छन् र कुल गोल संख्या १८ पुर्‍याएका छन् । अर्जेन्टिना आजको जितसँगै समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।