विराटनगर ८ असार । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध यातायातकर्मीलाई अभिमुखीकरण दिएको छ ।
सीमाक्षेत्रमा यातायातकर्मीहरू दैनिक रूपमा विभिन्न स्थानका यात्रुहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरू मानव बेचबिखन रोकथाम तथा शंकास्पद गतिविधिको पहिचान गर्न सक्ने पहिलो तहका महत्वपूर्ण साझेदार भएकाले उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण दिइएको हो ।
यातायातकर्मीहरूलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी आधारभूत जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको माईती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँले कार्यक्रमबाट जोखिममा रहेका महिला तथा बालबालिकाको पहिचान गर्न सहज हुने र सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउने अभ्यास विकास हुने बताउनुभयो ।
मनोपरामर्शकर्ता गीताञ्जली शर्माले मानव बेचबिखन तथा ओसारपसारको परिचय, अवस्था तथा कानुनी पक्ष, महिला तथा बालबालिकालाई विभिन्न प्रलोभन, झुटा आश्वासन, वैदेशिक रोजगारी, विवाह, अध्ययन तथा आकर्षक अवसरको बहानामा कसरी बेचबिखनको जोखिममा पारिन्छ भन्ने विषयमा, सीमावर्ती क्षेत्रमा यात्रु ओसारपसार गर्दा यातायातकर्मीहरूले अपनाउनुपर्ने सावधानीहरु लगायतबारे सहभागीलाई जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागीले मानव बेचबिखन तथा ओसारपसार भएको थाहा हुनेवित्तिकै नजिकको प्रहरी वा माईती नेपाललाई जानकारी गराउने बताएका थिए । उनीहरूले मानव बेचबिखनका विभिन्न स्वरूप तथा जोखिमका संकेतहरूबारे स्पष्ट जानकारी भएको बताएका थिए ।
शुक्रबार आयोजित कार्यक्रममा विराटनगर सीमावर्ती क्षेत्रमा सञ्चालन हुने सिटी सफारी, अटो, भ्यान तथा स्थानीय बसका चालक तथा यातायातकर्मीहरूगरि ६ महिला चालक सहित २० चालकहरुको सहभागिता रहेको थियो ।