रास्वपाको महाधिवेशन आजदेखि

विराटनगर ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदै छ ।

महाधिवेशनको अन्तिम तयारी पूरा भएको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिनुभयो । “हामीले महाधिवेशनको तयारी पूरा गरेका छौँ । ससाना तयारीका काम अन्तिम अवस्थासम्म पनि भइरहन्छ,” उहाँले भन्नुभयो ।

महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ ।

करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ । यस्तै रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले नव विवाहित दुलही झैँ भरतपुर सजिएको छ ।

प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट निर्माण गरिएका छन् । महाधिवेशनमा भाग लिन देशविदेशका प्रतिनिधि भरतपुर आउन थालेका छन् । यो व्रmम आइतबार दिनभरि पनि जारी रहने बताइन्छ । “महाधिवेशनमा ३५ सय प्रतिनिधिलाई हामीले चितवनका तीन सयभन्दा बढी होटलमा राख्ने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।

महाधिवेशनका लागि केन्द्रीय नेताहरू चितवन आइसक्नुभएको छ । पार्टी सभापति रवि लामिछानेलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित भइसक्नुभएको छ ।

आइतबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नुहुने छ । महाधिवेशन उद्घाटन कार्यव्रmममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

देशविदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सरिक हुनुहुने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो ।

ड्रोनमार्फत ट्राफिक व्यवस्थापनको अनुगमन महाधिवेशनमा ट्राफिक व्यवस्थापन सहज बनाउन ड्रोनद्वारा अनुगमन गरिने भएको छ ।