विराटनगर ४ असार । मोरङको जहदा गाउँपालिकाका वडाध्यक्षहरुले गाउँसभा बहिस्कार गरेका छन् । वडाध्यक्षहरुको बहिस्कारका कारण गाउँपालिकाको दोश्रो गाउँसभाको ११ औं अधिवेशन प्रभावित भएको छ ।
गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै ४ जना वडाध्यक्षहरु सहित केही सदस्यहरुले गाउँसभा बहिस्कार गरेका थिए ।
वडा नं. १ का वडाध्यक्ष बाबुराम राजवंशी, २ का चन्द्रशेखर कुमार साह, ६ कासूर्यानन्द मण्डल, ७ का भगवान मरण्डीलगायतले गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह (जितु) को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभामा सहभागी नभएको बताएका छन् ।
गाउँसभामा गाउँपालिकाका २ जना वडा अध्यक्षहरु गाउँ सभामा सहभागी नभई प्रशासकीय अधिकृतको कार्यालयमा देखिए पनि गाउँ सभामा भने उपस्थित भएका थिएन । वडा अध्यक्षहरुले गाउँ सभा बहिस्कार गरेर बिराटनगरको एउटा होटलमा आएर बसेको स्रोतले जनाएको छ । होटलमा वडाध्यक्षहरुले सदस्यहरुलाई समेत बोलाएर गाउँसभा बहिस्कार गर्न लगाएको स्रोतले जनाएको छ ।
गाउँपालिका अध्यक्ष साहले सबै पक्षको राय–सुझावलाई बेवास्ता गर्दै एकलौटी रूपमा निर्णय गर्ने, आफ्ना निर्णय मात्रै लागू गर्न खोज्ने तथा वडा अध्यक्षहरूसँग समन्वय नगर्ने प्रवृत्ति अपनाएकाले गाउँसभा बहिष्कार गर्नुपरेको वडाध्यक्षहरुको भनाई छ । अध्यक्ष साहले वडा अध्यक्षहरूको विश्वास जित्न नसकेको र सहज वातावरणमा काम गर्न नदिएको उहाँहरूले आरोप लगाउनुभयो ।
जहदा गाउँपालिकामा कुल ३९ जना सभा सदस्य छन् । गाउँसभा सञ्चालनका लागि गणपुरक संख्या नपुग्दा लगातार बैठक प्रभावित हुँदै आएको छ । यसअघि असार ३ गते बोलाइएको कार्यपालिका बैठक पनि गणपुरक संख्या नपुगेकै कारण स्थगित भएको थियो । त्यस अघि बोलाएको बैठक समेत यही कारणले सञ्चालन हुन नसकेपछि पुनः असार ३ गतेका लागि बैठक तय गरिएको थियो ।
पालिकाले पटक–पटक बैठक आह्वान गरे पनि सभा सदस्यहरूको अनुपस्थितिका कारण नीति, कार्यक्रम तथा बजेट पारित गर्ने प्रक्रिया प्रभावित बन्दै गएको हो । यसले गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट तथा विकास योजनामा समेत अन्योल सिर्जना गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ताका अनुसार चालु आर्थिक वर्षका लागि गाउँपालिकाले २७ करोड २१ लाख रुपैयाँ आन्तरिक तथा अन्य स्रोतबाट बजेट प्रस्ताव गरेको छ ।
संघीय सरकारबाट सशर्ततर्फ २७ करोड ९८ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड रुपैयाँ प्राप्त हुने गरी कुल ५८ करोड १९ लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
