विराटनगर ४ असार । नेकपा एमाले कोशीले छिमेकी मुलुक भारतसँग कुटनीतिक संवाद गरि चिया निर्यातमा भएको अवरोध हटाउन सरकार समक्ष आग्रह गरेको छ ।
कोशी प्रदेशको प्रमुख समृद्धीको आधारको रूपमा रहेको चिया क्षेत्रमा बारम्बार देखापर्ने सङ्कटले यस प्रदेशको आर्थिक गतिविधि नै धराशायी बन्ने अवस्थामा पुगेको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘ नेपाल सरकारलाई भारतीय पक्षसँग कूटनीतिक तथा सरकारी तहमा तत्काल संवाद, वार्ता र समन्वय गरी नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्न नेकपा (एमाले) कोशी प्रदेश कमिटी आग्रह गर्दछ ।’
चिया टिप्ने मुख्य सिजनमा इलाम जिल्लामा सञ्चालित ५३ वटा र झापा जिल्लामा सञ्चालित ३६ वटा लगायत पाँचथरमा समेत चिया उद्योग आजबाट पूर्ण रूपमा बन्दप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ । अध्यक्ष खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ एमाले चिया किसान, मजदुर तथा उद्योगी व्यवसायीहरूको पक्षमा रहेको र चिया क्षेत्रमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ । ’
चिया उद्योग बन्द हुँदा करिब ६० हजार मजदुर प्रभावित भएका छन् । नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक रहेको चियाको निर्यातमा उत्पन्न समस्या तत्काल समाधान हुन नसके किसानले उत्पादन गरेको चिया पत्तीको उचित मूल्य प्राप्त गर्न नसक्ने, उद्योगहरू सञ्चालनमा कठिनाइ हुने तथा हजारौँ श्रमिकको रोजगारी र आयआर्जनमा प्रतिकूल असर पर्ने देखिन्छ । ९८ प्रतिशत चिया कोशी प्रदेशमा खेती हुन्छ ।
