विराटनगर २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र अनावस्यक विवादमा नलागी एकताबद्ध हुन आग्रह गर्नुभएको छ । उहाँले अहिले पार्टीमा एकढिक्का भएर चुनौतिको सामाना गर्ने समय भएको बताउनुभयो ।
विराटनगरमा आज आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टी पुर्नगठन सम्वन्धी सुझाव संकलन कार्यक्रमलाई भर्चुअल रुपमा सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो,‘ हाम्रो पार्टी एकताबद्ध हुनुपर्दछ, अनावश्यक विवाद यताउति गरेर हुने होइन । यतिबेला पार्टी एकढिक्का भएर चुनौतीको सामना गरेर पार्टीलाई लागेको धक्काबाट फेरि उठाउनु पर्नेछ, त्यसका लागि पार्टी पहिलो कुरा सशक्त ढङ्गले अगाडि बढ्नुपर्छ ।’
निर्वाचनमा पार्टीले भोगेको गम्भीर धक्का र कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै नेताहरूले पार्टी पुनर्गठन तथा नेतृत्व हस्तान्तरणको माग उठाईरहेका बेला अध्यक्ष ओलीले महाधिवेशन भएको तीन महिना नपुग्दै अध्यक्ष हटाउने भन्ने कुरा ठिक नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘ महाधिवेशन भएको ३ महिना नहुँदै अध्यक्ष हटाउने भन्ने कुरा कुन राजनीतिक हो ? कुन वैधानिकता हो ? कुन सांगठनिक प्रक्रिया हो ? यी कुराहरू हुन सक्ने कुरा होइनन् र हाम्रो पार्टीको यो कुरा होइन, यो विचार होइन । यस उद्देश्यका साथ हामीले समीक्षा गर्ने भनेका होइनौँ ।’
निर्वाचनको समीक्षा पार्टीको तल्लो तहदेखि नै होस भनेर सुझामव संकलन शुरु गरिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो,‘ समस्या कहाँनिर छ ? हाम्रा कमिटीहरू को सम्बन्ध, कमिटी र जनताको विचार, राम्रो सम्बन्ध हुनुपर्ने । नेता र कार्यकर्ताका बीचमा, कार्यकर्ता र जनताका बीचमा कस्तो सम्बन्ध हुनुपर्ने थियो, के कारणले कमजोर भयो ? त्यसको समीक्षा हुनुपर्छ । ’
अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गरेको बेला देशमा ‘स्वर्ण युग’ भन्ने अवस्था रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ सुशासनको हिसाबले, देशभक्तिको हिसाबले, राष्ट्रिय हितहरूको रक्षा र सम्वद्र्धन गर्ने हिसाबले, सबै हिसाबले हामी उन्नत अवस्थामा थियौँ ।’
राजनीति अत्यन्तै व्यवस्थित ढङ्गले लोकतान्त्रिक विधिबाट अगाडि बढिरहेको थियो। सुशासन चलिरहेको थियो, भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी प्रयासहरू अगाडि बढाइएका थिए। र देशलाई विकासको गतिमा अगाडि बढाउँदै थियो र एक पक्षमा विकास होइन, पूर्वाधारमा मात्रै विकास होइन, हरेक पक्षमा, आर्थिक उन्नतिका हरेक पक्षमा हामीले विकास गरेका थियौँ।
कार्यक्रममा पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले निर्वाचन परिणामको समीक्षा गरि पार्टीलाई अघि बढाइने बताउनुभयो । उहाँले निर्वाचनको पराजयको कारण छुट्याउने तथा किटान गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ शिर देखि तिर सम्मको निर्वाचन समीक्षा आवस्यक छ ।’ उहाँले ७ वटै प्रदेशमा निर्वाचन समीक्षा तथा सुझाव संकलन शुरु भएको बताउनुभयो । उहाँले कार्यक्रममा मुख्यगरि चुनावमा निराशाजनक परिणामको कारण, निर्वाचन पटि कार्यकर्ताको गिरेको मनोवल उच्च बनाउन गर्नुपर्ने काम, पार्टीलाई एकताबद्ध बनाउन गर्न सकिने काम र पार्टीको बृहत्तर हितका लागि सुझाव लिईने बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्ला अध्यक्षहरुले निर्वाचनको समीक्षा तथा पार्टी पुर्नगठन सम्वन्धी जिल्लाको रिपोर्टिङ गरेका थिए । समीक्षा कार्यक्रमा केन्द्रीय कार्यदलबाट पार्टी उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिवहरु भानुभक्त ढकाल, हिक्मतकुमार कार्की, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, प्रतिनिधिसभा निर्वाचनमा विजयी तथा पराजित उम्मेदवारहरु लगायतको सहभागिता रहेको थियो ।

