विराटनगर १ असार । सुनसरीको वर्जु गाउँपालिका–३ अमरडुवाकी २२ वर्षीया महिला चादनी राय पतिको घरबाट रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कानुनी सहायतासँगै आर्थिक सहयोग प्रदान गरेको छ ।
वर्जु गाउँपालिका–३ अमरडुवाका ३० वर्षीय पति अजय रायको घरबाट ०८२ असोज ६ गते रहस्यम तरिकाले बेपत्ता भएकी पीडितको खोजी तथा कानुनी प्रक्रियाका इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले पीडित पक्षलाई कानुनी सहायतासँगै आर्थिक सहयोग प्रदान गरेको हो ।
बेपत्ता महिलाका बाबु ब्रह्मदेव रायले ०८३ जेठ २१ गते न्यायका लागि पहल गरीदिन आग्रह गर्दै इन्सेकलाई निवेदन दिएपछि पीडित पक्षलाई कानुनी सहायतासँगै न्यायिक प्रक्रियामा जानका लागि ५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो ।
सामाजिक परम्परा अनुसार वर्जु गाउँपालिका–३ अमरडुवाका ३० वर्षीय अजय रायसँग विवाह गरीदिएकी छोरी ०८२ असोज ६ गते पतिको घरबाटै रहस्यमय ढङ्गले बेपत्ता भएको र प्रहरीमा उजुरी दिँदा समेत प्रहरीले वेवास्ता गरेकाले इन्सेकलाई निवेदन दिएको पीडितका बाबु ब्रह्मदेव रायले बताउनु भयो ।
ज्वाइ अजय राय र ज्वाईँकी भाउजुबिच अनैतिक सम्बन्ध रहेको विषयमा छोरीले माइती पक्षलाई जानकारी गराएपछि छोरी बेपत्ता भएको पीडित ब्रह्मदेव रायले बताउनु भयो । उहाँले छोरीले पति र जेठानीबिचको अनैतिक सम्बन्धका बारेमा माइती पक्षलाई जानकारी गराएपछि छोरीलाई आरोपित अजय रायले कुटपिट गर्ने गरेको पीडित ब्रह्मदेव रायले बताउनु भयो ।
छोरी ज्वाईँबिच सम्बन्ध विग्रिएपछि बर्जु गाउँपालिका–३ मा रहेको अमरेश्वरनाथ टोल विकास संस्थामा ०८२ असोज २२ गते निवेदन दिएको र समाजका भलादमीबिच छलफल हुँदा ज्वाईँले गल्ती स्वीकारेर छोरी लगेको १७ दिनपछि छोरी चादन राय रहस्यमय तरिकाले घरबाटै बेपत्ता भएको बेपत्ता महिलाका बाबुले बताउनु भयो ।
छोरी बेपत्ता भएपछि पहिले आँफैले खोजी गरेको तर पार नलागेपछि ०८२ चैत ६ गते इलाका प्रहरी कार्यालय, दुहवीमा उजुरी दिएको भएपनि प्रहरीले निवेदनमाथि भएको कारबाहीका बारेमा जानकारी दिनुको सट्टा दशैँपछि आउनु, तिहार र छठपछि खोजी हुन्छ भनेर टार्ने गरेको पीडित ब्रह्मदेव रायले आरोप लगाउनु भयो ।
छोरी बेपत्ता भएको २० दिनपछि अर्थात ०८२ असोज २६ गते हरिनगर खोलाको डिलमा सडेलगेको अवस्थामा महिलाको शव फेला परेको र सो शव राखिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपाको शवगृहमा गएर हेर्दा दाँत र टाउकोको मोहडा छोरीसँग मिल्ने जस्तो लागेर प्रहरीसँग डिएनए टेष्ट गर्न अनुरोध गर्दा प्रहरीले सो नमानी पोष्टमार्टम गरेको पीडित बह्मदेव रायले बताउनु भयो ।
पीडित पक्षले इन्सेकलाई निवेदन दिएसँगै इन्सेक कोशी प्रदेश कार्यालयको सहयोगमा घटनाका आरोपित, बेपत्ता महिलाका पति ३० वर्षीय अजय राय र उनका भिनाजु ३५ वर्षीय रवि रायविरूद्ध पीडित पक्षले ०८३ जेठ २८ गते प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौमा हुलाकमार्फत निवेदन दिएको छ ।
इन्सेकको पहलपछि पीडित पक्षले गहृमन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुनसरी र जिल्ला प्रहरी कार्यालय, सुनसरीलाई बोधार्थ राखेर निवेदन पठाएको छ ।