विराटनगर २७ जेठ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले विद्यालयमा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ । माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरि निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो । मतदाता शिक्षा कोशी प्रदेशका १४ वटै जिल्लामा दिईने भएको छ ।
कार्यक्रम अन्तरगत मोरङको रङ्गेली नगरपालिका १ स्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ९ र कक्षा १० का ७० जना विद्यार्थीलाई मंगलबार विद्यार्थी मतदाता निर्वाचन शिक्षा विषयमा एक दिने अभिमुखीकरण भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत चोलाराज दंगालले विद्यार्थीहरूलाई अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो ।
बदर मतको सङ्ख्या घटाउने, निर्वाचन आचारसंहिता पालना गर्ने, निर्वाचन ऐन कानुन, निर्वाचनमा विद्यार्थीको भूमिका, स्थानीय तह निर्वाचन, प्रदेश सभा निर्वाचन, प्रतिनिधिसभा निर्वाचन लगायत विविध विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण दिईएको अधिकृत दंगालले बताउनुभयो ।
कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लामा विद्यार्थी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले निर्वाचन सम्बन्धी निर्वाचन ऐन कानुन सम्बन्धी विभिन्न प्रश्नहरु गरेका थिए । मतदाता शिक्षा विद्यार्थीलाई दिँदा बदरमतको प्रतिशत घटाउन सहयोग पुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा, कोशी प्रदेश निर्वाचन कार्यालयका कर्मचारी, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री शिक्षकहरू लगायतको सहभागिता रहेको थियो ।