रास्वपा प्रदेश अधिवेशन आजदेखि

विराटनगर २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ ।

देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा पाँच जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो ।

रास्वपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मङ्गलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार हालसम्म सम्पन्न भएका ५६ जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मधेश प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको पनि उहाँले जानकारी दिनुभयो । हालसम्म कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा अधिवेशन सम्पन्न भएको छ । उदयपुरमा निर्वाचन प्रक्रिया जारी छ ।