कक्षा एकमै रोकिन्छन् सोह्र प्रतिशत विद्यार्थी

काठमाण्डौं २५ जेठ । सरकारले विद्यालय शिक्षामा बर्सेनि अर्बाैं रुपियाँ खर्च गर्ने गरे पनि कक्षा १ मा भर्ना भएकामध्ये १६ प्रतिशत विद्यार्थी सोही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा १ मा भर्ना भएका एक सय जना विद्यार्थीमध्ये अहिले पनि कक्षा २ मा पुग्दा ८० जना मात्रै बाँकी रहने गरेका छन । जसमध्ये औसतमा १६ जनाले कक्षा दोहोर्‍याउँछन् भने चार जनाले पढाइ छाड्ने गरेका छन ।

सरकारी नीति अनुसार अहिले पनि कक्षा १ देखि ३ सम्म शतप्रतिशत निरन्तर मूल्याङ्कन प्रणाली लागु भइरहेको छ । सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन । तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्याङ्कन प्रणालीमाथि प्रश्न उठेको छ ।

तथ्याङ्क अनुसार कक्षा दोहोर्‍याउनेमा छात्रभन्दा छात्रा केही धेरै छन् । पढाइ छाड्नेमा भने छात्राभन्दा छात्र केही बढी देखिन्छन । विद्यालय तहमा कक्षा दोहोर्‍याउने दर कक्षा १ पछि कक्षा ८ मा धेरै छन । यो कक्षामा १२.६ प्रतिशत विद्यार्थीले कक्षा दोहोर्‍याउँछन ।

कक्षा २ मा ८.७ प्रतिशत, कक्षा ३ मा ७.५ प्रतिशत, कक्षा ४ मा ८.८ प्रतिशत र कक्षा ५ मा ८.५ प्रतिशतले कक्षा दोहोर्‍याउने गरेका छन् । त्यस्तै कक्षा ६ मा ८ प्रतिशत, कक्षा ७ मा ७.८ प्रतिशत, कक्षा ९ मा ७.४ प्रतिशत र कक्षा १० मा २.७ प्रतिशत विद्यार्थीले कक्षा दोहोर्‍याउने गरेका छन ।

कक्षा दोहोर्‍याउने र छाड्ने दर नघट्दा १० वर्षअघि कक्षा १ मा भर्ना भएका आठ लाख ७९ हजार ४६९ जना विद्यार्थी भर्ना भएका विद्यार्थी गत वर्ष कक्षा १० मा आइपुग्दा चार लाख ५७ हजार ३०३ मात्रै आइपुगेका थिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढी कक्षा १ मा भर्ना भएका कारण दोहोर्याउने दर उच्च रहेको बताउनुहुन्छ । अहिले चार वर्ष पूरा भएका बालबालिकालाई न्यूनतम एक वर्ष प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ ।

तर निजी विद्यालयमा त तीन वर्ष पूरा नहुँदै पनि विद्यार्थी भर्ना गर्ने चलन छ । कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ७७.५१ प्रतिशतले मात्रै इसिडी (अर्ली चाइल्ड डेभलपमेन्ट) को अनुभव लिएर आउने गरेका छन । इसिडी अनुभव नभई कक्षा १ मा भर्ना हुँदा विद्यार्थीको सिकाइ क्षमता कमजोर हुने र यसैको असरका कारण कक्षा १ मै दोहोरिनु परेको महानिर्देशक न्यौपानेको भनाइ छ । गोरखापत्र