विराटनगर २३ जेठ । बहुअपाङ्गता भएका सात बर्षीय बालकामाथि क्रुर व्यवहार गर्ने बाबुविरुद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको छ ।
उजुरी दर्तासँगै आरोपितलाई प्रहरीले अनुसन्धानका लागि जेठ २१ गते पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीका ४० वर्षीय दिनेश रामले अपाङ्गता भएका सात वर्षीय छोरामाथि क्रुर व्यवहार गर्दै आएका थिए ।
आरोपित बाबुलाई पक्राउ गरेपछि बालकको उद्दार गरी कोशी अस्पतलामा उपचारका लागि भर्ना गरिएको छ ।
सात वर्षीय बालक जन्मिँदै आँखा नदेख्ने, कान नसुन्ने र हिँडडुल समेत गर्न नसक्ने अवस्थाका छन् । शारीरिक रूपमा असक्त अबोध छोरालाई बाबु दिनेश रामले क्रुर व्यवहार गर्दै आएका थिए । पीडित बालककी आमाले राजीखुसी अर्काेसँग विवाह गरी गएको र बाबु कुलतमा लागेकाले नातीलाई दिनहुँ जसो कुटपिट गर्ने गरेको बालककी हजुरआमा देवी रामले बताउनु भयो ।
पीडित बाकलका बाबु दिनेशले लागुपदार्थ सेवन गर्ने र छोरालाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा टोकिदिने जस्ता अमानवीय व्यवहार गर्दै आएका थिए ।
दिनभर ज्याला मजदुरी गर्ने र बेलुका लागुपदार्थ सेवन गरी घर फर्किएपछि छोरामाथि क्रुर व्यवहार गर्ने घटनाका विषयमा इन्सेकले सूचना पाएपछि जेठ २२ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, रानीमा उजुरी दर्ता भएको हो ।
इन्सेकसहित राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोशी प्रदेश व्यवस्थापक सरोज नेपालीको संयुक्त पहलमा बाबुविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
आरोपितले छोरालाई निर्घात कुटपिट गर्नुका साथै छाती लगायत शरीरका विभिन्न भागमा दाँतले टोकेर गम्भीर घाइते बनाएको अपांग महासंघका प्रदेश व्यवस्थापक सरोज नेपालीले बताउनु भयो ।
ं
कोशी अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि पीडित बालकलाई पोषणका लागि अस्पतालकै न्यूट्रिसन (पोषण) विभागमा भर्ना गरिएको छ ।