त्रिभुवन माध्यमिक विद्यालय रंगेलीका १११ विद्यार्थी पुरस्कृत

विराटनगर २३ जेठ । मोरङको रङ्गेली नगरपालिका –१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाले शैक्षिक सत्र २०८२ मा कक्षा तहगत उत्कृष्ट हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ ।

कक्षागत प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरू सम्मानित भएका हुन् । नेपाल सरकारद्वारा प्रदान गरिएको छात्रवृत्ति ७७ जना विद्यार्थीहरूले प्राप्त गरेका छन । दलित सीमान्तकृत तथा बालिका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले नेपाल सरकारबाट प्रदान गरिएको छात्रवृत्ति बाट सम्मान गरिएको हो । स्कुलले भीष्मराज–हिमकला गौतम छात्रवृत्ति समेत प्रदान गरेकोे छ ।

जेहन्दार विद्यार्थीहरू ओमकुमार बस्नेत सृष्टि भुजेल तथा दलित सीमान्तकृत विद्यार्थी भूमिका बिक र आशिष झाँगडलाई भीष्मराज हिमकला छात्रवृत्ति प्रदान गरिएको विद्यालयका शिक्षक दिनेश विष्टले बताउनुभयो । उनीहरूले जनही २ हजारका दरले छात्रवृत्ति पाएका हुन ।

भीष्मराज हिमकला अक्षय कोषका संरक्षक सुवास गौतमद्वारा आफ्ना माता पिताको नाममा स्थापना गरिएको रु २ लाख अक्षय कोष बाट प्राप्त व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिने गरिएको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा प्रधानाध्यापक केशरबहादुर बानियाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, शिक्षकहरू भोला सरदार , नवराज सुबेदी, विजय प्रभात खवास लगायतले विद्यार्थीहरूलाई अझ मेहनत र परिश्रम गरि उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिनु भएको थियो ।