विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।

बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुुर्याएपछि सो लक्ष्य हासिल गरेको हो ।

महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०–११ महिनाका दुई हजार १३९ जना, १२–१५ महिनाका ९७७ जना, १६–२३ महिनाका एक हजार ५४८ जना तथा २४–५९ महिनाका छ हजार ९६६ जना रहेका छन् । यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको जनाएको छ ।

विराटनगर महानगरपालिकाले वडा नं १ देखि १९ सम्मका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र दिइसकेको छ । आवश्यक सबै सूचक पूरा गरी पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई सम्मानस्वरूप सो प्रमाणपत्र प्रदान गरिएको महानगरपालिकाले जनाएको छ । महानगरका प्रमुख कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार महानगरले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो । ‘पूर्ण खोप सुनिश्चितता केवल एक कार्यक्रम होइन, यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको अभियान हो,’ उहाँले भत्रुभयो , ‘महानगरले आगामी दिनमा पनि खोप छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन र अभिलेखीकरणलाई थप प्रभावकारी बनाउनेछ ।’ खोप संयोजक सुशील साहले विराटनगरमा खोप सेवाको गुणस्तर सुधार, तथ्यांक व्यवस्थापन र समुदायस्तरको सहभागिताले अभियान सफल भएको बताउनुभयो ।

स्वास्थ्यकर्मीहरूका अनुसार पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता रहेको बताउनुभयो ।