विराटनगर २० जेठ । मैथली विकास अभियान विराटनगरले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना हुने भएको छ ।
आधुनिकताको बढ्दो प्रभावका कारण लोप हुने अवस्थामा पुगेका मैथिली समुदायका विवाह तथा अन्य संस्कारमा गाइने मौलिक लोकगीतहरूलाई संरक्षण र सम्वद्र्धन गर्न यस पटक ‘गीत–नाद’ प्रतियोगिता यही जेठ ३० गते आयोजना गर्ने संस्थाका अध्यक्ष नवीन कर्णले जानकारी दिनु भयो ।
प्रतियोगितामा विराटनगर महानगरपालिका सहित आसपासका विभिन्न पालिकामा मैथली गीत गाउने महिला समूहहरूलाई यस कार्यक्रममा सहभागिता रहने छ । प्रतियोगिताका लागि हालसम्म ३० समूहले सहभागीता हुने जनाएका छन् । प्रतियोगितामा महिलाहरुको समूहले मात्र भाग लिने व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कर्णले बताउनुभयो ।
अभियानले विगतमा ‘झुमैत मिथिला, गाबैत मिथिला’ जस्ता साङ्गीतिक कार्यक्रम, दीपोत्सव तथा मैथिल महिलाहरूको सहभागितामा जानकी नवमी भव्य रूपमा सम्पन्न गरिसकेको छ ।