प्रधानमन्त्री साहले नेपालले सीमा मिचेको विषयमा दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी कांग्रेस र नेकपाद्धारा जवाफ माग

विराटनगर १७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको विषयमा दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी कांग्रेस र नेकपाले जवाफ माग गरेको छ । नेपालले कहाँ भारतको जग्गा मिचेको छ भन्ने जानकारी कांग्रेस र नेकपाले संसद्बाट नै माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेकी हुन् । नेकपाका सांसद रमेश मल्लले संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो । थापाले भन्नुभयो, ‘नेपाल भारत सीमा विवाद छन् । तर प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिच्यो भन्नुभयो । कहाँनेर मिचिएको हो छिटोभन्दा छिटो अवगत गराउन र्पयो । यो कुन विषय हो ? यो गम्भीर र आपत्तिजनक विषय हो ।

प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु ।’ नेकपाका सांसद रमेश मल्लले मुलुकको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तविपरीत प्रधानमन्त्री बोलेको बताउनुभयो । ‘मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीले जसरी एउटा जिम्मेवारी व्यक्ति जिम्मेवार सदनको रोष्ट्रमबाट जो कुरा व्यक्त गर्नुभएको छ यो सामान्य विषय छैन, मल्लले भन्नुभयोे, ‘उहाँले अनौपचारिक कुराकानीमा राखेको विषयवस्तु जस्तो सम्झनुभयो कि जस्तो मलाई लागेको छ । यो कुरा धेरै नै गम्भीर छ । कुनै मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौं भन्छन् होला ? यो कति गम्भीर विषय छ ?’ मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को तर्फबाट सच्याउन पर्ने र संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गर्नुभयो ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताउनु भएको हो । तर त्यसक्रममा उहाँले भन्नुभयो, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला म पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ ।’