कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाईने

विराटनगर १२ जेठ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाईने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते सम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा , स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा कार्यालय प्रमुखहरुको नेतृत्वमा सरसफाई गर्ने, साँझ दीपावली गरिने, जेठ १५ गते विहान प्रभातफेरि निकालिने र जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले संवोधन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ ।

जेठ १६ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा अस्पतालका विरामीले फलफुल वितरण गर्ने, सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमका आश्रितलाई फलफूल वितरण गर्ने र साँझ दिपावली गरिने कार्यक्रम तय भएको बताईएको छ ।

मूलसमारोह समितिको बैठकले जेठ १५ गते विभिन्न जातजातीको भेषभुषा झल्कने झाँकी सहित सहभागिताका लागि आग्रह गरेको छ । विराटनगर बाहिरका झाँकीलाई ३० हजार र अन्य स्थानकालाई २५ हजार नगद सहित सम्मान गर्ने भएको छ ।

दिवसलाई भव्य रुपमा सम्पन्न गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीको नेतृत्वमा ११ सदस्यीय निर्देशक समिति बनाईएको छ । मुल समारोह समितिको बैठकले प्रभातफेरिमा सहभागी हुने कर्मचारीहरुलाई राष्ट्रिय झण्डा, प्ले कार्ड र ब्यानर सहित सहभागी हुन आग्रह गरेको छ ।