मोरङमा लागुऔषधविरुद्धको महाअभियान सुरु हुँदै

विराटनगर ९ जेठ । मोरङमा पहिलोपटक लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरिने भएको छ । यही जेठ १० गते आइतबारदेखि औपचारिक रूपमा अभियान सुरु हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा सुरु हुन लागेको महाअभियानको उद्घाटन कोशी प्रदेशको राजधानी विराटनगरमा भव्य कार्यक्रमका साथ गरिने भएको छ । आइतबार बिहान विशेष समारोहमार्फत शुभारम्भ गरिने महाअभियानको सबै तयारी पूरा भएको मोरङ प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, गृह मन्त्रालयका राष्ट्रिय लागुऔषध नियन्त्रक सुमन घिमिरे तथा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति रहनेछ । महाअभियान सञ्चालनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका छन् ।

उनले अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै लागुऔषध नियन्त्रणलाई अब व्यापक सामाजिक आन्दोलनको रूपमा अघि बढाइने बताए । अभियान शुभारम्भका अवसरमा एसपी कटवालले लागुऔषधसम्बन्धी विस्तृत प्रस्तुति दिने कार्यक्रम पनि तय गरिएको छ ।

उद्घाटन समारोहमा लागुऔषधको सेवनले मानव स्वास्थ्यमा पार्ने गम्भीर असर र त्यसले निम्त्याउने सामाजिक तथा मानसिक समस्याका बारेमा डा. अजिता पौडेलले विशेष जानकारी दिनेछिन् । साथै, पूर्वलागुऔषध प्रयोगकर्ताले आफ्ना व्यक्तिगत अनुभव साझा गर्दै यसले जीवनमा पारेको विनाशकारी प्रभावबारे प्रत्यक्ष अनुभव सुनाउने छन् ।

कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ‘अन्धकारबाट उज्यालो’ शीर्षकको नाटक पनि प्रदर्शन गरिनेछ । जसले लागुऔषध दुव्र्यसनको अन्धकार र त्यसबाट मुक्त जीवनतर्फको यात्रालाई कलात्मक रूपमा प्रस्तुत गर्नेछ ।

महाअभियानको शुभारम्भपछि सरोकारवाला निकायहरूले नौ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेछन् । उक्त प्रतिबद्धतामा लागुऔषध नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र, शैक्षिक संस्था र समुदायबीच सहकार्यलाई मजबुत बनाउने, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त रूपमा कार्यान्वयन गर्ने विषयहरू समेटिएको छ ।

कार्यक्रमअघि विराटनगरमा प्रभातफेरी तथा र्‍याली पनि निकालिनेछ । र्‍याली महेन्द्र चोकबाट सुरु भएर विराटनगर बजार परिक्रमा गर्दै सहिद रंगशालामा पुगेर समापन हुनेछ । र्‍यालीमार्फत लागुऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखिएको छ ।

महाअभियानअन्तर्गत युवाहरूलाई लक्षित गर्दै लागुऔषधविरुद्ध टिकटक भिडियो प्रतियोगिता पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ४० हजार रुपैयाँ र तृतीय हुनेलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी एसपी कटवालले दिए । उनका अनुसार डिजिटल माध्यमबाट युवालाई सचेत बनाउने प्रयासलाई प्रभावकारी रूपमा अघि बढाइनेछ ।

विराटनगरबाट सुरुवात हुने महाअभियान मोरङका सबै १७ वटा स्थानीय तहमा विस्तार गरिने योजना रहेको एसपी कटवालले बताए । शैक्षिक संस्था, समुदाय तथा सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै युवाहरूलाई लागुऔषधबाट टाढा राख्ने अभियानको मुख्य उद्देश्य रहेको छ ।