सुकुम्वासी बस्तीमा ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर ४ जेठ । सुकुम्वासी बस्तीहरूमा विना विकल्प डोजर चलाइएको भन्दै मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । विराटनगरमा भूमिहीन सुकुम्वासीहरुले सोमबार प्रदर्शन गरेका छन् ।

संयुक्त संघर्ष समिति मोरङको आह्वानमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगलाई ‘अमानवीय’ र ‘गैरजिम्मेवार’ कदमको संज्ञा दिएको छ ।

ज्ञापनपत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक र अशक्तहरूको संवेदनशीलतालाई समेत ख्याल नगरी डोजर प्रयोग गरेर उठिबास गराइएको भन्दै देशभरका सुकुम्वासीहरूमा त्रास फैलिएको उल्लेख गरिएको छ ।

उनीहरूले सुकुम्वासी बस्तीमा भइरहेको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने, सुकुम्वासीहरूको अर्थपूर्ण सहभागिता रहने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, वास्तविक सुकुम्वासीको पहिचानका लागि नगर र वडा तहबाटै लगत संकलन गरी उचित व्यवस्थापन गर्नुपर्ने तथा ऐलानी र पर्ती जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीनहरूलाई यथाशीघ्र धनी पुर्जा वितरण गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन थालेका हुन् ।

समिति संयोजक संयोजक निशा किरण राईका अनुसार भूमि ऐन २०२१ को ८ औँ संशोधनले भूमिहीनका लागि भूमि आयोगमार्फत जग्गा उपलब्ध गराउने व्यवस्था गरेको भए पनि सो प्रक्रियालाई लत्याएर बल प्रयोग गरिनु लोकतन्त्रको उपहास हो । मागलाई बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाइने उहाँको चेतावनी छ ।