कामिरिताद्धारा ३२ औं र लाक्पाद्धारा ११ औं पटक सगरमाथा आरोहण

विराटनगर ४ जेठ । नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु नयाँ कीर्तिमान बनाउनुभएको छ ।

पर्यटन विभागका अनुसार कामिरिताले (पुरुषतर्फ) ३२ औँ पटक र लाक्पाले (महिलातर्फ) ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । आज कायम भएका दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट, सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ । आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगत्लाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैङ्गिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोहीभन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पुर्याएको छ ।”

दुवै जना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले सङ्ख्यात्मक रूपमा पुरुषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ्दै गएको महिलाको उत्साहजनक सहभागिता, सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाइ लिएको बताउनुभयो ।

पर्यटन विभागका अनुसार कामिरिताले आइतबार बिहान १०ः१२ बजे र लाक्पाले ९ः३० बजे सर्वाेच्च शिखरको चुचुरोमा पाइला टेक्नुभएको हो । सन् १९७० जनवरी १७ मा सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्नुभएको थियो । पछिल्ला हरेक वर्ष जस्तो चुचुरोमा पुग्दै आउनुभएका उहाँ गतवर्षको यही यामको आरोहण अन्तर्गत २०८२ जेठ १३ गते ३१ औँ पटक सर्वाेच्च शिखरमा पुग्नुभएको थियो । त्यसअघि विसं २०८१ मा दुई पटक अर्थात २९ औँ र ३० औँ सफल आरोहण गर्नुभएको थियो । त्यस्तै सन् १९७३ मा सङ्खुवासभा मकालु–२ मा जन्मिनुभएकी लाक्पाको कीर्तिमानले नेपालको पर्वतारोहण इतिहासमा नयाँ इँटा थपेको छ । यसअघि सन् २०२२ मा १० औँ पटक सगरमाथा आरोहण गर्नुभएकी उहाँले यस वर्ष आफ्नै कीर्तिमान तोड्नुभएको हो ।