१९३ विद्यार्थीलाई एभरेष्टद्धारा अभिनन्दन, संस्कार, सीप र प्रविधिमा जोड

विराटनगर २ जेठ । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा ( एसईई) मा उत्तीर्ण भएका विद्यार्थीलाई अभिनन्दन गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा अभिभावक सहित विद्यार्थीलाई स्कुलले अभिनन्दन गरेको हो ।

गत चैतमा सञ्चालन गरिएको परीक्षामा एभरेष्टबाट १९३ विद्यार्थीले परीक्षा दिएका थिए । शतप्रतिशत नतिजा निकालेको एभरेष्टले गुणस्तरिय शिक्षासँगै विद्यार्थीलाई संस्कार, सीप र प्रविधिमा जोड दिएको जनाएको छ ।

स्कुलका प्रिन्सीपल टीकाराम पुरीले परीक्षाको नतिजा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिईएको बताउनुभयो । नेपालको वर्तमान परीक्षा प्रणालीले दिने नतिजाले विद्यार्थीको जीवनलाई अघि बढाउन समस्या देखिएको उहाँले बताउनुभयो । परीक्षा प्रणाली सुधार गर्न पर्नेमा उहाँको जोड छ । प्रिन्सिपल पुरीले विद्यार्थी तथा अभिभावकलाई बधाई दिँदै कक्षा ११ र १२ को अध्ययन भनेको पूर्व विश्वविद्यालयको कोर्ष रहेकाले रुचि अनुसार गर्न सुझाव दिनुभयो । उहाँले एभरेष्टका विद्यार्थीहरुले कुनैपनि क्षेत्रमा असफल हुनु नपर्ने भन्दै सबै क्षेत्रमा सफल बनाउने गरिको शैक्षिक वातावरण तयार पारिएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताउनुभयो । विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत, अभिभावकको चासो र शिक्षकहरुको सिकाउने कलाले नै उत्कृष्ट रिजल्ट सम्भव हुने भन्दै उहाँले एभरेष्टमा सबै क्षेत्रको उत्कृष्ट संगम रहेको प्रमाणित हुने बताउनुभयो । उहाँले शतप्रतिशत उत्तिर्ण भएका विद्यार्थीलाई बधाई दिँदै उज्वल भविष्यको समेत कामना गर्नुभयो ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि खेलिरहेको भूमिकाको चर्चा गर्दै एसईई २०८२ को नतिजामा विराटनगरको अवस्था समेत प्रष्ट्याउनुभएको थियो ।