विराटनगर २४ वैशाख । कोशी प्रदेशमा एचआईभी संक्रमितको संख्या बर्षेनी बढ्दै गएको छ । स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रियामा हरेक वर्ष संक्रमितको संख्या बढ्दै गएको जनाएको छ ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २ हजार २३ संक्रमित रहेका छन् । २०८०–०८१ म यो संख्या २ हजार ४०७ र २०७९–०८० मा २ हजार २४८ थियो । विराटनगरमा मात्रै गत वर्ष १३९एचआईभी संक्रमित थिए ।
स्वास्थ्य कार्यालयले संक्रमितहरुको हरेक वर्ष खोजी गरिने जनाएको छ । संक्रमितहरु आँफै सम्पर्कमा नआउने गरेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सरकारी संयन्त्रले मात्रै संक्रमितहरुको खोजी गर्न सकिदैन, कोशी प्रदेशमा देखिएका संक्रमित सवै यहाँको पनि हैन । अन्य प्रदेशबाट आएर पनि कोशीमा परीक्षण गर्ने गरेका छन् ।’
कोशी प्रदेश एन्टी रेट्रो भाइरल थेरापी ( एआरटी) मा ६५६ जना संक्रमितहरु रहेका छन् । महिला ३८२, पुरुष २५०, तेश्रो लिङ्गी २४ र बालबालिका ७ जना रहेका छन् ।
एआरटीमा निशुल्क एचआइभी परामर्श तथा परिक्षण, निशुल्क कन्डम वितरण, निशुल्क एआरटी औषधि, यौन रोग परामर्श तथा परीक्षण निशुल्क भाइरल लोड परिक्षण हुने गरेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।