नेपाल हव पुरुष टि–२० क्रिकेट प्रतियोगिता : सिरहा र विराटनगर फाइनलमा प्रवेश

विराटनगर २५ वैशाख । सिरहा हव र विराटनगर हव दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन ।

नेपाल क्रिकेट फाउन्डेसन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलिवन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको लिगको अन्तिम खेलमा विजयी हुँदै सिरहा हव र विराटनगर हव फाइनलमा प्रवेश गरेका हुन । पहिलो खेलमा राजविराज हवलाई सिरहा हवले १ रनले पराजित गर्यो ।

शुक्रबार बिहान वर्षा भएपछि १० ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको सिरहलाले ८ विकेट गुमाई ५७ रन बनाएको थियो । ५८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ९ विकेट गुमाउँदै ५६ रन बनायो ।

दोस्रो खेलमा इटहरी हवले अपराजित टिम विराटनगर हवलाई २ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९.२ बलमा सबै विकेट गुमाई ७९ रन बनाएको थियो ।

८० रनको लक्ष्य पाएको इटहरीले १८.३ बलमा ८ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको थियो ।

सिरहाले ४ खेलमा ३ मा जित र १ खेल रद्द भएपछि ७ अंकका साथ शीर्षस्थानमा रहेको छ भने विराटनगरले ४ खेलमा २ मा जित र १ मा खेल रद्द भएपछि ५ अंकका साथ दोस्रो, राजविराजले ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो , इटहरीले ४ खेलमा २ मा पराजित, १ मा जित र १ खेल रद्द भएपछि ३ अंकका साथ चौथो तथा उदयपुरले ४ खेलमा ३ मा पराजित र १ खेल रद्द भएपछि १ अंकका साथ पुछारमा छ ।