विराटनगर २१ वैशाख । मोरङका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरू संगठित रूपमा आन्दोलनमा उत्रिएका छन् । सुन्दरहरैँचा, लेटाङ र पथरीशनिश्चरे लगायतका स्थानमा सोमबार र आइतबार छुट्टाछुट्टै प्रदर्शनहरू भएका छन् ।
आन्दोलनले सुकुम्वासीमा बढ्दो असन्तोष र त्रासलाई सतहमा ल्याएको छ । डोजर प्रयोग गरेर बस्ती हटाइने सम्भावित सरकारी कदम, काठमाडौंमा हालै गरिएको बलपूर्वक हटाउने अभ्यास र स्थानीय तहहरूमा पठाइएका विवरण संकलन सम्बन्धी पत्रहरूले सुकुम्वासीहरूलाई थप आक्रोशित र असुरक्षित बनाएको देखिन्छ ।
सुन्दरहरैँचा नगरपालिका–१० स्थित बाघझोडामा आयोजित विरोध कार्यक्रमले आन्दोलनलाई स्पष्ट स्वर दिएको छ । बाघझोडा सुकुम्वासी संरक्षण संघर्ष समिति सुन्दरहरैँचाको आयोजनामा सोमबार प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति आक्रोशपूर्ण नारा लगाउँदै सुरु भएको पैदर्ल याली नगरका मुख्य बजार क्षेत्र परिक्रमा गरी नगरपालिका कार्यालयसम्म पुगेको थियो । समितिका संयोजक दीपेन्द्र जोगीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले ‘देशभरिका सुकुम्वासी एक हौँ’, ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्वासी बस्ती हटाउन पाइँदैन’ जस्ता नारा लगाइएको थियो ।
मोरङ जिल्लामा हाल ८ हजार ९१९ भूमिहीन दलित, १८ हजार ५६१ सुकुम्वासी र ४० हजार २५३ अव्यवस्थित बसोबासी परिवार रहेको तथ्यांक छ । अद्यावधिक विवरणअनुसार करिब ८० हजार परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने देखिन्छ ।
राष्ट्रिय भूमि आयोग मोरङका अध्यक्ष नवीन पौडेलका अनुसार विगतमा संकलित विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नहुँदा समस्या थप जटिल बनेको हो । अहिले तथ्यांक इन्ट्री, प्रमाणीकरण र अभिलेखीकरणको काम भइरहेको भए पनि बस्ती खाली गराउने दबाबका कारण प्रक्रिया प्रभावित भएको उहाँले बताउनुभयो ।