मोरङका ९५ पत्रकारको आँखा परीक्षण

विराटनगर २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको आँखा जाँच शिविरमा ९५ जनाको आँखा परीक्षण गरिएको छ ।

विराटनगर आँखा अस्पतालसँगको प्राविधिक सहयोगमा मोरङका पत्रकारका लागि आईतबार आयोजित शिविरमा परीक्षण गराएका मध्ये ४ जनाको थप उपचारका लागि अस्पतालमा भर्ना हुन भनिएको छ ।

विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ शैलेन्द्रकुमार महतो नेतृत्वमा स्वास्थ्यकर्मीहरु आनन्दकुमार यादव, सरिता शर्मा, सुर्य नारायण उराँव र मनिष खवासले पत्रकारहरुको आँखा परीक्षण गरेका थिए । आँखा परीक्षण गराएका मध्ये ३५ जनालाई औषधी दिईएको छ ।

४० जनालाई चस्मा वितरण गरिएको विराटनगर आँखा अस्पतालका कार्यकारी निर्देशक कुमार पृथुले बताउनुभयो ।